अमर काफ्ले,
सुनसरी सदरमुकाम इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि. सीटीईभिटीबाट सम्वन्धन नलिई आफुखुसी संचालन गरिएको पाइएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद पूर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीले ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि.आफ्नो मातहत नरहेको स्पष्ट पार्दै गैर कानुनी रुपमा संंचालनमा रहेको उक्त कलेज उपर आवश्यक कार्वाहीको माग सहितको पत्र काटेपछि ऐलेनका सञ्चालकहरुले आफुखुसी गरेको रहस्य बाहिरिएको हो ।
सीटीईभिटीद्धारा कार्वाहीको माग सहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा पठाइएको पत्रलाई प्रजिअले सम्वन्धित निकायसँग बुझी आवश्यक प्रकृया अघि बढाउनु भनि तोकआदेश गरेसँगै उक्त पत्र आजकै मितिमा प्रशासनको दर्ता किताबको १०२७ नम्वरमा दर्ता भएको छ ।
इनरुवा नगरपालिका १ स्थित शान्ती चौक पुर्व तर्फको दुहवी इनरुवा सडक खण्डमा संचालित ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.ली. इनरुवाले सम्वन्धित निकायबाट मान्यता नलिई बिराटनगरको स्किल फाउण्डेसनसँगको सहमतिका आधारमा प्राविधिक शिक्षा कक्षा संचालन गर्दै आएको छ ।
स्किल फाउण्डेसनले सीटीईभिटीबाट मान्यता पाएको भएपनि उसले अन्यलाई आफ्नो नामको अधिकार बेच्न नपाउने पूर्व क्षेत्र क्षेत्रीय निर्देशक डा. शिवप्रसाद दाहालले बताएका छन् । स्वयं कक्षा सञ्चालन गर्नु बेग्लै कुरो हो तर आफुले पाएको सम्वन्धनका आधारमा अन्य प्रालिका नाममा काम गर्ने सहमति र सम्झौता गराउनु गलत भएको दाहालले स्पष्ट पारे ।
नियम बिपरित गएर स्किलले कार्य गरेको पाइएकाले उसलाई समेत स्पष्टीकरण सहित ऐलेनसँगको सम्झौता रद्द गरी संचालनकालागि दिइएको भनिएको अनुमति अनुरुपका कार्यक्रम तत्काल बन्द गर्न भनिएको दाहालले बताए । अटेर गरेको खण्डमा स्किल फाउण्डेसनको इजाजतनै रद्दको प्रकृया अघि बढ्न सक्ने दाहालले जानकारी दिए ।
मनोजकुमार मेहता अध्यक्ष र विनोद शर्मा संचालक रहेको ऐलेन कलेज अफ इन्जिनियरिङ प्रालीले कम्प्युटर सिस्टम एण्ड डेभलोपर १३२० घण्टाको कार्यक्रम संचालन गर्दै आएको छ ।
सो कार्यक्रम छोटो अवधीको भएको र नियम अनुसार २ सिफ्टमा २० जनाका दरल ४० जना विद्यार्थी मात्र पढाउने पाइने कोर्षमा दोब्बर बढी संख्यामा विद्यार्थी सहभागि गराइनु समेत गलत रहेको सीटीईभिटीले जनाएको छ ।
कोर्ष बापत लिइने शुल्क समेत चर्को भएको भन्दै अभिभावकहरुले ऐलेन कलेज इनरुवा विरुद्ध अख्तियारमा समेत उजुरी गरेका छन् । ऐलेने एक विद्यार्थी बराबर १ लाख २५ हजार शुल्क लिँदै आएको छ । कलेज विरुद्ध परेको निवेदनका समवन्धमा आवश्यक अनुसन्धान गरी सीटीईभिटीसँगको समन्वय र परामर्श पश्चात कार्वाहीको प्रकृया अघि बढाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
उता एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि इनरुवाका अध्यक्ष रहेका मनोज कुमार मेहताले आफ्नो कलेज कानुनी रुपमा संचालित रहेको दावी गरेका छन् । स्थानीय तह र समवन्धित निकायमा दर्ता गरी आवश्यक कर समेत बुझाउँदै आएको बताउने मेहताले स्किल फाण्डेसन सीटीईभिटीबाट मान्यता प्राप्त संस्था रहेकाले उसँगको सहमतिमा संचालनमा ल्याइएको आफ्नो कलेज वैधानिक भएको जिकिर गरे ।
मेहताले स्किल फाउण्डेसनले आफ्नो क्षेत्राधिकारमा रही आफ्नो संस्थासँग सम्झौता गरी कलेज संचालनकालागि सहमति दिएको जनाए । व्यक्तिगत रिसिवी साध्न आफु र आफ्नो संस्थालाई बदनाम गराउन खोजिएका भन्दै मेहताले कानुनी लडाई लड्ने प्रतिकृया दिएका छन् । सीटीईभिटी क्षेत्रीय कार्यालयले कार्वाहीको प्रकृया अघि बढाएको भन्ने सन्दर्भमा मेहताले क्षेत्रीय कार्यालयलाई वास्तविक नियम कानुनको बारेमा ज्ञाननै नभएकाले केन्द्रिय तहमा कुरो अघि बढाइएको बताए ।
यसैबिच ऐलेन कलेजसँग जोडिएर बाहिरिएको विषय प्रशङगका बारेमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद काठमाण्डौंसँग बुझ्दा एक संस्थाले पाएको समवन्धनका आधारमा अन्यले इजाजत वा सहमति, सम्झौताका नाममा कुनैपनि कलेज संचालन वा शिक्षासँग समवन्धित कार्य गर्न नपाइने स्पष्ट पारेको छ ।