विराटनगर–किमाथाङ्का (चीन) सडक सञ्जालको ट्रयाक खोल्ने काम अन्तिम चरणमा

विराटनगर–किमाथाङ्का (चीन) सडक सञ्जालको ट्रयाक खोल्ने काम अन्तिम चरणमा

नवराज कट्टेल

विराटनगर, माघ ९ गते । राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफलाइन’ विराटनगर–किमाथाङ्का सडक सञ्जालको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । उत्तर–दक्षिण कोसी (सडक) आयोजना अन्तर्गत सङ्खुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग विस्तार अन्तिम चरणमा पुगेको हो । नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानीबाट ३४० किलोमिटर दूरीमा चीनको सीमा क्षेत्र किमाथाङ्का जोडिन अब १४ किलोमिटर दूरीको ट्रयाक मात्रै खोल्न बाँकी रहेको बताइन्छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित चेम्ताङदेखि छेकाङसम्मको १४ किलोटिमर दूरीमा रहेको शङ्खेभिर र महाभिरमा ट्रयाक खोलिएसँगै नेपाल–भारत र चीन सडक सञ्जालबाट जोडिने भएको हो ।

उत्तर–दक्षिण कोसी (सडक) आयोजना खाँदबारीले खाँदबारीदेखि किमाथाङ्कासम्मको १६२ किलोमिटर दूरीको सडकको ट्रयाक खोल्ने, ग्राभेल गर्ने काम गर्दै आएको छ । आयोजनाका प्रमुख अजयकुमार साहका अनुसार ट्रयाक खोल्न बाँकी रहेको सडकका लागि नेपाली सेनासँग सहयोग लिइने भएको छ । चेम्ताङदेखि छेकाङसम्मको क्षेत्रमा कडा चट्टान भएकोले यो कठिनाइ चिर्न नेपाली सेनालाई नै सहयोग माग्नुपर्ने भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बताउनुहुन्छ ।

भोटखोला १ र २ को सिमाना क्षेत्रमा रहेको भीर फुटाउनका लागि आयोजनाले समेत विस्फोटक पदार्थको खरिद प्रक्रिया बढाइ सकेको छ । विस्फोटक पदार्थ राख्न र नेपाली सेनालाई बसोबास गर्ने बङ्कर र संरचना निर्माणको काम थालिएको आयोजनाका प्रमुख साहले जानकारी दिनुभयो ।

एक वर्षभित्रै बाँकी ट्रयाक खोलिसकिन्छ, प्रमुख साहले भन्नुभयो, शङ्खेभिरको जोखिम छल्न पेदुङतर्फ बाटो मोड्ने विकल्प छ । पेदुङतर्फ बाटो मोड्न सके जम्मा दूरीमा १२ किलोमिटर छोटिने उहाँले बताउनुभयो ।
चीनसँग सीमा जोडिएको किमाथाङ्काबाट सङ्खुवासभाको भोटखोला गाउँपालिकाको छेकाङ (गोङखम्पा)तर्फको १४ किलोमिटर दूरीमा सवारी आवातजावत गर्दै आएको अध्यक्ष तेम्बा भोटेले बताउनुभयो ।

सडकसँगै पुल निर्माणको कामलाई अगाडि बढाइएको आयोजना प्रमुख साहले जानकारी दिनुभयो । दोभानदेखि बरुण र बरुणदेखि किमाथाङ्का बीचमा पर्ने खोलामा नौवटा पुल निर्माणको प्रक्रिया र चारवटा पुल स्वीकृतको प्रक्रियामा रहेको साहले बताउनुभयो ।
राष्ट्रिय गौरवको बहुचर्चित सडक आयोजनाको काम २०६५ सालदेखि शुरु गरिएको थियो । हालसम्म अढाई अर्ब खर्च भइसकेको सडकको खाँदबारी–दोभान ५० किलोमिटर सडक कालोपत्रेका लागि स्वीकृतिको प्रक्रियामा रहेको बताइन्छ ।

त्रिदेशीय व्यापारिक मार्ग निर्माणसँगै चीनको सिकात्सेसँग सीधा व्यापारिक सम्बन्ध जोडिने आशा गरिएको छ । किमाथाङ्कादेखि नजिकै रहेको चीनको छेन्दुङसम्म रेल चिनियाँ रेलको सेवा विस्तार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्