‘भ्यालेन्टाइन डे’का लागि १ करोड ५० लाखको गुलाफ आयात गरिँदै

‘भ्यालेन्टाइन डे’का लागि १ करोड ५० लाखको गुलाफ आयात गरिँदै

प्रेम गर्नेहरुका लागि विशेष दिन फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ । तर्क गर्नेहरु भन्छन्, ‘यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो ।’ तर, प्रेमका पक्षपातीहरू भन्छन्, ‘प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन ।’

प्रेमको बहानामा ‘भ्यालेन्टाइन डे’लाई मात्रै बुझ्नु वा मनाइनु तर्कसंगत छैन । एक हिसाबले अहिलेको पुस्तालाई त ठीकै लाग्ला । हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमी भएको तर्कमा जोड दिन्छन् ।

त्यसैले अर्काको संस्कृति अनुसार प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउन नहुने तर्क राख्छन् । तर पनि भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।

पछिल्लो समय ‘भ्यालेन्टाइन डे’को प्रभाव नेपालमा पनि पर्दै गएको छ । नेपालमा पनि युवा–युवतीहरु भ्यालेन्टाइन डेलाई विशेष रुपमा मनाउँदै आएका छन् ।

यस वर्षको ‘भ्यालेन्टाइन डे’का लागि करिब एक करोड ५० लाख मूल्यको बराबरको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।

गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ ।

एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ फूलको अन्तर्राष्ट्रियरूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ ।

गत वर्ष प्रतिगुलाफ रु ४० देखि ८० सम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० सम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एशोसिएसनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्