विराटनगर, ११ माघ । मोरङ्गका उद्योगी तथा ब्यवसायीहरु वित्तिय संस्थाहरुले असमान रुपमा ब्याजदर वृद्धि गरेको भन्दै आन्दोलित भएका छन्।बैंकले बढाएको ब्याजदरको सन्दर्भमा उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापन पत्र बुझाउने तयारीमा रहेका छन्।
उद्योग संगठन मोरङ्ग र मोरङ्ग ब्यापार संघले शुक्रबार संयुक्त रुपमा सञ्चारभेलाको आयोजना गर्दै बैंकको ब्याजदरमा असन्तुष्टि राख्दै चरणबद्ध रुपमा आन्दोनलमा उत्रने बताएका छन्। उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले बैंक तथा वित्तिय क्षेत्रले ब्याजदर नघटाए उद्योगको चाबी सरकारलाई बुझाउने चेतावनी दिए। उनले भने, 'यस्तै रवैया रहे आफूहरु राष्ट्र बैंकमा तालाबन्दी गर्ने अवस्थामा पुग्नेछौं।'
उत्पादन मूलक उद्योगहरुमा प्रवाह गरिएका ऋणमा ब्याजदर बढाइएको भन्दै उद्योगीहरु आन्दोलित भएका हुन्। उनीहरुले आउदो आइतबार प्रधानमन्त्री समक्ष पत्र बुझाउने र माग सम्बोधन नभए माघ २० गतेबाट २३ गतेसम्म निरन्तर धर्ना कार्यक्रम अघि बढाउने भएका छन्।
त्यसैगरि, थप विरोधका क्रममा उनीहरु माघ २४ गतेपछि जिल्ला प्रशासन कार्यालयमा उद्योगको तालाचाबी बुझाउदै राष्ट्र बैंकको कार्यालयमा ताला लगाउने पक्षमा उभिएका हुन्।सोही क्रममा मोरंग ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले ऋणमा अधिकतम सात प्रतिशत र व्यवसायिक क्षेत्रमा नौ प्रतिशत नबढाई व्याजदर कायम गर्नु माग गरेका छन्।
बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमुलक उद्योगहरुमा सरल तरिकाले लगानी गर्ने व्यवस्था हुनु पर्ने उनको भनाइ छ।सो अवसरमा उद्योगी व्यवसायीहरुले ब्यवसायीलाई मर्का पर्ने गरी ६ प्रतिशतबाट बढाएर १७ प्रतिशत पुगेको ब्याजदर घटाउनु पर्ने माग गरे।