नेपालमा चट्याङको भयानक रुप : चट्याङका कारण अमेरिकामा भन्दा तीन गुणा बढीको नेपालमा मृत्यु

<span class='c1'>नेपालमा  चट्याङको भयानक रुप : चट्याङका कारण</span> <span class='c2'>अमेरिकामा भन्दा तीन गुणा बढीको नेपालमा मृत्यु</span>

जनबोलीमा इन्द्रको वज्र भनेर बुझिने चट्याङ नेपालको प्रमुख प्राकृतिक प्रकोपका रूपमा लिइन्छ, यसबाट प्रतिवर्ष औसत एक सय जनाभन्दा बढी नेपालीले ज्यान गुमाइरहेका छन् । अमेरिकाभन्दा ६६ गुणा सानो नेपालमा चट्याङका कारण अमेरिकामा भन्दा तीन गुणा बढी मानिसले बर्सेनि मृत्युवरण गर्नुपरिरहेको छ । चट्याङ, यसबाट हुन सक्ने जोखिम तथा न्यूनीकरणका उपाय आदि विषयका सम्बन्धमा अमृत साइन्स क्याम्पसमा भौतिकशास्त्रमा प्राध्यापनरत डा. श्रीराम शर्माको विवरण ।

चट्याङबाट नेपालमा प्रतिवर्ष औसत एक सय १० जनाले ज्यान गुमाउने सरकारी तथ्याङ्क छ । यो सङ्ख्या नेपालभन्दा करिब ६६ गुणा ठूलो अमेरिकामा मृत्यु हुनेको सङ्ख्या भन्दा झण्डै तीन गुणा बढी हो । नेपालमा कतिपय स्थानमा यसलाई वज्र परेको पनि भनिन्छ र यसलाई भगवान् इन्द्रसँग जोडिन्छ । यही माघ ८ गते मङ्गलबारका दिन सुदूरपश्चिमको डडेल्धुरामा चट्याङ लागेर दुईजनाले ज्यान गुमाउनुप¥यो भने चारजना घाइते भएको समाचार सार्वजनिक भयो । समाचारअनुसार मङ्गलबार बिहान घरैमा बसिरहेका बेला उनीहरूको चट्याङबाट मृत्यु भएको थियो ।

चट्याङ के हो ?
वायुमण्डलका कुनै दुई भाग (बादलभित्रै वा बादल र जमिनबीच ) हुने विद्युतीय असन्तुलनका कारण एक भागदेखि अर्काे भागसम्म विद्युतीय चार्ज (करेन्ट) बहन्छ । यो करेन्टको मात्रा (परिमाण) औसतमा ३० हजार एम्पियर हुन्छ र फलस्वरूप वायुमण्डलका विविध ग्यासहरूको तापक्रम ३० हजार डिग्रीसम्म पुग्छ । विविध ग्यासहरूको गडगडाहटबाट निस्कने आवाजलाई नै समग्रमा चट्याङ भनिन्छ । अत्यधिक मात्राको करेन्ट र तापक्रमका कारण यो करेन्ट प्रवाहित हुने कुनै पनि भौतिक संरचनामा क्षति हुने गर्दछ ।

मानव सभ्यतामा चट्याङ
संसारमा हरेक मानव सभ्यताको विकासमा चट्याङले विशेष स्थान पाएको देखिन्छ । उदाहरणका लागि हिन्दु सभ्यतामा भगवान् इन्द्रलाई चट्याङ अथवा वज्रका लागि जिम्मेवार मानिन्छ भने उत्तरी युरोपमा यसका लागि थोर नाम गरेका भगवान्लाई हर्ताकर्ता ठानिन्छ । सबै मानव सभ्यतामा एउटा समानता पाइन्छ, जसको निचोड चट्याङलाई दैवीप्रकोपका रूपमा बुझिन्छ ।
नेपालका धेरै ठाउँमा चट्याङलाई अझै पनि दैवीप्रकोपका रूपमा हेर्ने गरिन्छ र यसबाट बच्न सक्ने उपायबारेमा कल्पना पनि गरिँदैन । हाम्रै विभिन्न नेपाली समुदायमा अझै पनि चट्याङले बन्चरो, फाली, ढुङ्गाजस्ता हतियारहरू प्रहार गर्छ भन्ने विश्वास अद्यापि व्याप्त छ, जसलाई आजको वैज्ञानिक युगमा अन्धविश्वासभन्दा बढी केही भन्न सकिँदैन ।

जोखिम न्यूनीकरणका उपाय
चट्याङबाट विश्वमा सरदर २४ हजार व्यक्तिले प्रतिवर्ष ज्यान गुमाउँछन् र नेपालमा मात्र औसत एक सय १० जनाले । यसले प्रत्यक्ष तथा परोक्ष रूपमा अरबौँ रुपियाँबराबरको भौतिक क्षति पु¥याएको हुन्छ । चट्याङले अप्रत्यक्ष रूपमा कम्प्युटर, टेलिभिजन, मोबाइल फोन अझ प्रस्ट रूपमा भन्नुपर्दा करेन्ट प्रवाहित भएर सञ्चालन हुने आधुनिक विद्युतीय सामग्रीमा बढी नै क्षति पु¥याएको हुन्छ । प्रविधिको द्रुत विकास, विद्युतीय उपकरणको अत्यधिक प्रयोग, सूचना प्रविधिमा बढ्दो निर्भरता, तथ्याङ्क सङ्कलन, संरक्षण तथा प्रवाहमा डिजिटाइजेसनको अपरिहार्यतासँगै चट्याङको जोखिम अत्यधिक बढ्न गएको छ । सूचना प्रविधिका क्षेत्रमा अपरिहार्य प्रयोग गरिने सूक्ष्म अर्धसुचालक चिप्सहरूका लागि चट्याङ ठूलो अभिशाप हो । यदि सूक्ष्म चिपलाई अचानक बढने विद्युतीय करेन्टले क्षति पु¥यायो भने उक्त चिपमा सञ्चित सूचना, डाटा आदि नष्ट हुन गई अपूरणीय व्यावहारिक क्षति बेहोर्नुपर्दछ ।
चट्याङबाट हुने जनधनको क्षतिलाई सामान्य पूर्वसावधानी तथा चट्याङ प्रतिरक्षी सामग्री वा उपकरणको सहायताले न्यूनीकरण गर्न सकिन्छ ।

चट्याङ ठूलो परिमाणको विद्युतीय करेन्ट भएका कारण सामान्य खर्चमा विद्युतीय सुचालकको प्रयोगले हाम्रा घर, स्कुल, अस्पताल, व्यारेक तथा सम्पूर्ण भौतिक संरचनालाई सुरक्षित बनाउन सकिन्छ । यी कार्यका लागि सामान्य ग्यालभिनाइज्ड आइरन (जीआई) पाइपको छड तथा पाता, एल्युमिनियमका छड तथा पाताहरू अथवा तामाका छड तथा पाताको प्रयोगले गर्न सकिन्छ । यद्यपि उक्त सामग्री जडानका लागि विशेष अनुभवी वा तालिमप्राप्त व्यक्तिको आवश्यकता पर्दछ । हाल नेपालमा तालिम प्राप्त व्यावसायिक जनशक्तिको ठूलो खडेरी देखिन्छ । विश्वका विकसित मुलुक तथा धेरै विकाशशील मुलुकहरूमा यस विषयका सक्षम जनशक्तिको उपलब्धता देखिन्छ र ती मुलुकहरूमा चट्याङ प्रतिरोधी प्रविधिको प्रशस्त प्रयोग भएको पाइन्छ । साथै ती मुलुकहरूमा भवनसंहितामा चट्याङ प्रतिरोधी प्रविधिबारे न्यूनतम मापदण्ड बनाएको पाइन्छ । फलस्वरूप चट्याङबाट हुने क्षतिलाई न्यून पार्न सम्भव भएको मान्न सकिन्छ ।
नेपालमा पछिल्लो समयमा चट्याङ प्रतिरक्षी प्रविधिको आवश्यकता महसुस गर्न थालिएको छ, यद्यपि हाम्रो भवनसंहितामा खासै मापदण्ड बनाइएको छैन । परिणामस्वरूप हाम्रो बजारमा विविध चट्याङ प्रतिरोधी (प्रतिरक्षी) सामग्रीहरू पनि उपलब्ध हुन थालेका छन् तर विडम्बना हाम्रा बजारमा उपलब्ध सामग्री वा उपकरणहरूमध्ये कतिपय सामग्रीहरू विश्वका धेरै मुलुकमा प्रतिबन्धित सामग्रीहरू रहेको पाइन्छ ।

पछिल्लो समय छिमेकी मुलुक भारत तथा चीनका भवनसंहिताले प्रतिबन्धित गरेका यस्ता सामग्रीहरूले हाम्रो बजारलाई नियन्त्रणमा लिने सम्भावना बढ्दो देखिन्छ । हाम्रा बजारमा उपलब्ध यस्ता सामग्रीहरू हालै काठमाडौँमा विद्युतीय सामग्रीका प्रदर्शनीमा पनि प्रशस्त देख्न पाइयो । यी सामग्रीहरू सामान्य धातुका छड वा पाताभन्दा निकै आकर्षक देखिन्छन् । यी सामग्रीहरू निर्माता कम्पनीले दाबी गरेजस्तो प्रभावकारी नरहेको वैज्ञानिकहरूको भनाइ छ । साथै चट्याङसम्बन्धी अध्ययन अनुसन्धान गर्ने वैज्ञानिकहरूले उक्त सामग्रीहरू जडान नगर्न÷नगराउन सचेत गराएका छन् । तसर्थ, ती उपकरण सामग्री बेचविखन तथा प्रयोगमा सम्बन्धित सरोकारवाला सबैको ध्यानाकर्षण हुनु त्यत्तिकै जरुरी छ ।
चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि जनचेतनाको ठूलो आवश्यकता रहेकाले उक्त विषयलाई माध्यमिकतहका पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता देखिन्छ साथै इलेक्ट्रिकल इन्जिनियरिङको पाठ्यक्रममा पनि चट्याङ प्रतिरक्षी प्रविधिसम्बन्धी विशेष तथा विस्तृत रूपमा समावेश गर्न जरुरी देखिन्छ । साथै यस विषयलाई भवनसंहितामा अविलम्ब समावेश गरी विद्यालय, भवन, अस्पताल, बैङ्क, होटलजस्ता संवेदनशील संरचनामा तुरुन्त लागू गर्नुपर्ने देखिन्छ ।

नेपालमा चट्याङ
नेपालमा विशेषगरी वर्षायाम सुरु हुनुअघि चैतदेखि जेठ महिनाको अवधिसम्म बढी मात्रामा चट्याङ पर्ने आँकडा छ । यस्तै वर्षायाम समाप्तिको लगत्तै पनि चट्याङ पर्ने बढी सम्भावना रहेको बताइन्छ । चट्याङको विद्युतीय शक्ति जमिनतिर प्रवाहका लागि अग्ला रूख वृक्ष वा भौतिक संरचनालाई लक्षित गरेको हुन्छ, तसर्थ यसको मुख्य प्रहार नै रूख वृक्षमा बढी नै हुन्छन्, त्यसैले पानी पर्दा रूख वृक्षको मुनितिर ओत लाग्नु खतरनाक साबित हुन सक्ने भनिएको हो । नेपालका सबै क्षेत्रका अधिकांश जिल्लाहरू चट्याङबाट प्रभावित हुने भए पनि विशेषगरी मुख्यतया मध्य र पूर्वी पहाडी क्षेत्र तथा पूर्वी तराई क्षेत्र चट्याङबाट बढी प्रभावित हुने गरेका छन् ।
नेपालका सन्दर्भमा मानवीय क्षतिलाई दृष्टिगत गर्दा चट्याङलाई पनि एक प्रमुख प्राकृतिक प्रकोपका रूपमा लिने गरिएको छ । नेपालमा चट्याङबाट हुने मानवीय क्षतिलाई खासै वास्ता नगरिने भए पनि दुई दशकभन्दा कम समय यतामात्र गृह मन्त्रालयले चट्याङबाट मृत्यु हुने मानिसको तथ्याङ्क राख्न थालेको हो ।
नेपाल चट्याङबाट बढी प्रभावित हुनुमा यसको पहाडी भौगोलिक संरचना एवम् वर्षायाम सुरु हुनुअघि उत्तर–पश्चिमबाट आउने चिसो हावा दक्षिण–पश्चिमबाट आउने तातो हावा जुध्दा अन्यत्रभन्दा बढी चट्याङ पर्ने गरेको विज्ञहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्