यूएईविरुद्ध नेपालको शानदार जित , रोहितले तोडे सचिन र अफ्रिदीको रेकर्ड

यूएईविरुद्ध नेपालको शानदार जित , रोहितले तोडे सचिन र अफ्रिदीको रेकर्ड

काठमाडौं । कीर्तिमानी रोहितकुमार पौडेलको अर्धशक तथा सोमपाल कामीको ५ विकेटप्रेरित नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४५ रनको विजय हासिल गरेको छ ।

सबैभन्दा सानो उमेरमा एकदिवसीय अर्धशतक पूरा गर्ने खेलाडी बनेका रोहितकुमारले ५५ रन बनाएका थिए । उनले अरिफ शेखसँग छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेपछि दुबईस्थित आइसीसी एकेडेमी ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले २ सय ४२ रन बनाएको थियो । सोमपालले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिएपछि घरेलु यूएईले १९.३ ओभरमा ९७ रन जोड्दा सबै विकेट गुमायो ।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल र विनोद भन्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ लम्किएको थियो । ज्ञोन्द्र मल्ल ४४ रन बनाएर आउट भएपछि नेपालको इनिङ पूनः धर्मरायो । १९औं ओभरको तेस्रो बलमा ज्ञानेन्द्र आउट हुँदा नेपाल ७०–२ को अवस्थामा थियो । त्यसपछि थप ४३ रन जोड्नेक्रममा नेपालले तीन विकेट गुमायो । पारस २१, दीपेन्द्रसिंह ऐरी १०, पवन सर्राफ ८ रन बनाएर पवेलियन फर्किए । त्यसअघि ओपनर विनोद २१ रन बनाएर आउट भएका थिए ।

तर रोहितकुमार पौडेल र आरिफ शेखले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेपछि नेपाल २ सय रनको योगफल कटाउन सफल भएको थियो । रोहितकुमारले ५५ रन बनाउँदा आरिफले २९ रन बनाए । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका रोहितकुमारको यो पहिलो अर्धशतक हो । एकदिवसीय अन्तर्राष्ट्रियमा सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाएका रोहितकुमारले सचिन तेन्डुलकर र सहिद अफ्रिदीलाई पछि परेका छन् ।

करण केसीले १८ रन बनाउँदा  सोमपाल कामीले २ रन बनाए । शुक्रबार सोमपाल ‘टु डाउन’ मा ब्याटिङका लागि गए पनि आज उनलाई तल्लोक्रममा ब्याटिङ गराइएको हो । सन्दीप लामिछाने १४ र ललितनारायण राजवंशी ३ रनमा अविजित रहे । नेपालका ज्ञानेन्द्र र पारस एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय रन पूरा गरेका छन् ।

यूएईका अमिर हायत र इमरान हैदरले समान ३ विकेट लिँदा कप्तान मोहम्मद नाभीद, जहूर खान, र अशफाक अहमदको नाममा १–१ विकेट रह्यो ।

६.१ ओभरमै सोमपालले यूएईको अग्रपंक्तिका ब्याट्सम्यानलाई पवेलियन बाटो देखाएपछि घरेलु टोलीका ब्याट्सम्यान दबाबमा परेका थिए । पहिलो ओभरमै चिराग सुरी(०)लाई बोल्ड गरेका सोमपालले तेस्रो ओभरमा गुलाम सब्बर(२)लाई अरिफ शेखमार्फत क्याच गरेका थिए । पाँचौं ओभरमा शाईमन अनवार(०)लाई एलबिडब्लू आउट गरेका सोमपालमा सातौं ओभरमा अशफाक अहमद(२०)लाई ‘कट एन्ड बोल्ड’ गरेका थिए ।

त्यसपछि युवा लेग स्पिनर सन्दीपले लामिछाने ४ विकेट लिएपछि यूएईको इनिङ धरापमा परेको हो । सन्दीपले सीपी रिजवान(१६) र फहाद नवाज(०)लाई एलबिडब्लू आउट गरेको थिए । अमिर हायत(०) लाई रोहितकुमारमार्फत क्याच गरेका सन्दीपले मुहम्मद उस्मान(२६)लाई अरिफ मार्फत क्याच गरे । १९.३ ओभरमा सोमपालले जहूर खानलाई सन्दीपमार्फत क्याच गराउँदै नेपाललाई सहज दिलाए । यससँगै सोमपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी हुन् ।

पाँच विकेट लिनेक्रममा सोमपालले ६.३ ओभर बलिङ गर्दै १ मेडनसहित ३३ रन दिए भने सन्दीपले ४ ओभरमा १ मेडन राख्दै २४ रन दिएर ४ विकेट लिए ।

शुक्रबार कमजोर ब्याटिङ प्रदर्शनका कारण पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले युएईलाई तीन विकेटको नतिजा सुम्पिएको थियो । यो जितसँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृखला १–१ को बराबरी गरेको छ ।

शुक्रबार कमजोर ब्याटिङका कारण ३ विकेटको पराजय भोगेको नेपालले शनिबार स्पिनर बसन्त रेग्मीको स्थानमा रोहितकुमार पौडेलाई टोलीमा समावेश गरेको थियो ।  नेपालले युइई भ्रमणमा ३ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्