शुरु भयो विराटनगरको आरोहण गुरुकुलमा ‘एकरात

शुरु भयो विराटनगरको आरोहण गुरुकुलमा ‘एकरात

विराटनगर, १४ माघ ।
विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘एकरात’ नाटकको मञ्चन सुरु भएको छ ।
नेपाल सांस्कृतिक संघ मोरङको आयोजनामा सोमबारदेखि कोइरालाद्वारा लिखित कथाको नाट्य रुपान्तरण ‘एकरात’ नाटक मञ्चन सुरु भएको हो । लुकेर रहेका प्रतिभालाई मञ्च प्रदान गर्ने उद्देश्यले नाटक मञ्चन गरिएको संघका अध्यक्ष राजु थापाले जानकारी दिए । साढे १ र साढे ४ बजे गरी दैनिक दुई शो हुने नाटकमा निरज गौतम ब्ल्याकको मुख्य भूमिका रहेको छ ।

त्यस्तै प्रेम दाहाल, सन्तोष गौतम, सुवास विष्ट, संगीता यादव, उद्धव सापकोटा, राजेश ठाकुर, सुरेश विद्रोही, विकास पराजुली, मन्तोष यादव, अंकिता विश्वासलगायतले सशक्त अभिनय गरेका छन् । प्रजातन्त्र प्राप्तिका लागि लड्ने योद्धालाई तत्कालीन पञ्चायत शासकले दिएको यातनासहित मृत्युदण्डलाई नाटकले सशक्त रुपमा उठाएको छ ।
आफ्नो परिवारभन्दा देश र जनताका लागि एउटा युवाले कसरी योगदान पु¥याउन सक्छ भन्ने नाटकमा देखाइएको छ । नाटक हेर्न विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, उद्योगी व्यवसायी, पत्रकार, साहित्यकारलगायतको उपस्थिति रहेको थियो । गत वर्ष पनि गुरुकुलमै सो नाटक मञ्चन भएको थियो । माघ १८ गते शुक्रबारसम्म मञ्चन हुने आयोजक संस्थाका सचिव हिमांशु रायले जानकारी दिए । सो नाटक केही महिनापछि काठमाडौंमा पनि मञ्चन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्