धरानमा प्रदेशस्तरीय तेस्रो पुष्प व्यापार मेला फागुन ७ देखि

धरानमा प्रदेशस्तरीय तेस्रो पुष्प व्यापार मेला फागुन ७ देखि

धरान, १६ माघ । धरानमा प्रदेशस्तरीय तेस्रो पुष्प व्यापार मेलाको आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल, सुनसरीको आयोजनामा फागुन ७ गतेदेखि ११ गतेसम्म उक्त मेला हुने भएको हो । लामा प्रदेश–१ का इलाम, भोजपुर, धनकुटा, तेह्रथुम, मोरङ, झापा र सप्तरीका पुष्प व्यवसायीका ३२ ओटा स्टल रहेनछन् । विगत ३ वर्षदेखि आयोजना हुँदै आएको पुष्प मेलाले नेपालमै फूलको उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गरेकाले यस वर्ष पनि मुलुकमै उत्पादित फूलको व्यापार हुने आयोजकको भनाइ छ ।

अघिल्ला वर्षहरूका मेलाले फूल व्यवसायी र कृषकलाई आकर्षित गरेको एशोसिएशनका केन्द्रीय अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उनले भने, ‘दोस्रो पुष्प मेलामा ५० लाखको कारोबार हुन्छ भनेका थियौं, ६० लाखको कारोबार भएको थियो, यस वर्ष पनि कारोबार बढ्ने अनुमान छ ।’ मेलाकै कारण भारतीय बजारहरूबाट हुने फू्ल निर्यात पनि कम हुँदै गएको उनको भनाइ छ । सिजनमा फुल्ने फूल नेपालमै ९० प्रतिशतसम्म उत्पादन हुन थालेको उनले बताए ।

उनका अनुसार नेपालभर ६९७ नर्सरी स्थापना भई वार्षिक रूपमा करीब २ अर्बको फूलको कारोबार हुने गरेको छ । प्रदेश–१ मा ६० भन्दा बढी फूल व्यवसायीले वार्षिक १२ करोडको कारोबार गर्ने गरेको उनले बताए । १० रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मका फूलहरूको कारोबार हुने पुष्प मेलामा ५० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । प्रदर्शनीमा करीब ४ सय विभिन्न प्रजातिका फूलहरूसँगै मलखाद, बीउबिजन र औजारहरू राखिनेछ भने पुष्प व्यवसाय तथा कृषिका लागि परामर्श डेस्कबाट फूलका विषयमा जानकारी दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्