सुनसरीमा अनलाइन सेवा प्रभावित हुँदा मालपोतमा सेवाग्राहीलाई सास्ती

सुनसरीमा अनलाइन सेवा प्रभावित हुँदा मालपोतमा सेवाग्राहीलाई सास्ती

इनरुवा । अनलाइन प्रणालीमा आएको खराबीका कारण मालपोत कार्यालय सुनसरी इनरुवामा तीन दिनदेखि कामकाज प्रभावित हुन पुगेको छ । कामका लागि कार्यालय पुगेका सेवाग्राहीको आक्रोस बढ्दै जाँदा कार्यालयले सूचना टाँस गरी सेवा प्रभावित हुन पुगेको जानकारी गराएको छ ।

अनलाइन प्रणालीमा जग्गा सम्वन्धी कामकाज थालेको सुनसरी मालपोतको सिस्टम प्रणालीमा खराबी देखिएपछि सेवा प्रवाहमा समस्या देखिएको हो । भूमि सुधार तथा मातपोत कार्यालय इनरुवा सुनसरीमा तीन दिनदेखि काम ठप्प झैं बन्न पुग्दा सेवाका लागि कार्यालय पुगेका सर्वसाधारणमा भने आक्रोस चुलिएको छ ।

जग्गा पास लगायतका कामका लागि मालपोत कार्यालय पुगेका सेवाग्राही तीन दिन देखि फाइल बोकेर कार्यालय परिषरमा भौतारी रहनु परेको बताउँछन् । अनलाइन प्रणाली मार्फत जग्गाको रजिष्ट्रेसन गर्दा १६ पन्नाको अनलाइन फारम दर्ता गरिनुपर्ने हुन्छ । यसअघि हातले लेख्ने लिखत भने २ पन्नाको मात्र हुने गरेको थियो ।

सिस्टमनै नचलेपछि कामकाज बन्द भएको सूचना जारी गर्नु पर्ने अवस्था आएको मालपोत कार्यालय इनरुवाले जनाएको छ । अनलाइन सिस्टममा आएको खराबीका कारण सेवा प्रवाहमा समस्या निम्तेको बताउने मालपोत कार्यालय इनरुवाले कति दिन भित्रमा समस्या समाधान हुने हो भन्ने बारेको यकिन जानकारी भने दिएको छैन् ।

सेवा अवरुद्ध हुनुलाई कार्यालयले सिस्टमको खराबी बनाइरहँदा सेवाग्राहीले भने लापरवाहीको संज्ञा दिएका छन् । कामको चाप र भिडभाड हुने कार्यालयले लामो समय सम्म पनि प्रणालीमा सुधार तथा मर्मत गरी कामकाज सुचारु नगर्नुलाई कर्मचारीको गैरजिम्मेबारीपन भएको सेवाग्राहीको भनाई छ । काममा सुस्तता हुँदा सेवा अवरुद्ध गरिएको सूचना जारी गरेपनि रकम दिएर काम गराउन चाहने सेवाग्राहीको काम भने कर्मचारीले तत्कालै गरिदिने गरेको आमसर्वसाधारणको गुनासो रहेको छ ।

सफ्टवेयरमा आएको खराबी विभागीय समस्या भएकाले जानकारी गराई सकिएको कार्यालय प्रमुख सूर्यबहादुर थापाले बताएका छन् । थापाले समस्या माथिबाटै देखिएकाले कार्यालयको कमिकमजोरी नभएको बताउँदै रकमको प्रलोभनमा कर्मचारीले काम गरिदिने भन्ने विषयमा सत्यता नभएको बताएका छन् ।

इनरुवा मालपोतमा दैनिक रुपमा २ सयको हाराहारीमा जग्गा रजिष्ट्रेसन हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्