धरान, माघ १७ गते ।
सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् ।
मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाला र नगद रु चार हजार ९०० लुटिएको विर्तामोड घर भएका बिमारीका आफन्त अमृतेश ठाकुरले जानकारी दिनुभयो ।
ठाकुरले श्रीमती सम्झना ठाकुरको पित्तथैलीको शल्यक्रिया गरी युनिट १ सर्जरी वार्डमा राखेका थिए । राति चार्ज गरिरहेको बेला उनको मोबाइल हराएको थियो । यस्तै धरानका सनम राईको दुई वटा मोबाइल, ताप्लेजुङकी सीता इजमको दुई वटा औँठी, चुरा, झोला र रु तीन हजार ४०० नगद लुटिएको थियो ।
मोबाइल, पैसा र गहना लुटपाट भएपछि कुरुवाकै सक्रियतामा लुटेराको खोजी गरी प्रहरीलाई बुझाएका छन् । धनकुटा छिन्ताङ घर भएका राम थापालाई नियन्त्रणमा लिइएको हो । कुरुवाले नियन्त्रणमा लिएका थापालाई इलाका प्रहरी कार्यालय धरानमा बिहान बुझाएको हो । उनका विषयमा अनुसन्धान भइरहेको इप्रकाका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । (रासस)