सुमन सुस्केरा/विराटनगर, १९ माघ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे करीब ३५ वर्षअघि ज्यामी काम गर्थे । तर अहिले उनका ७ वटा उद्योग र व्यवसाय आफ्नै नाममा दर्ता छन् । उनको परिवारमा गरीबीको कुनै सीमा थिएन । एकदिन यस्तो आयो – भीमलाई अमेरिकाको डीभी चिट्ठा पर्यो । उनले आफूलाई परेको डीभी नै त्यागेर स्वदेशमै बस्ने निधो गरे ।
आर्थिक अभावको जर्जरताबाट अगाडि बढेको भीमको परिवारसँग जग्गा थिएन । बुवाआमा र ८ दाजुभाइ तथा दिदीबहिनी भएको परिवारमा २०२३ सालमा खोटाङको चुईचुङमा उनी जन्मिए । ठूलो परिवारसँग अरुको जग्गामा खेती गरेर अँधिया तथा बटैया कमाउनेबाहेक गुजाराको उपाय थिएन । गरीबीबीच छोराछोरीलाई केही पढाउँला या ठूलो बनाउँला भनेर उनको बुवाआमा खोटाङबाट सुनसरी जिल्लाको चक्रघट्टी झरे । उनी जन्मेको ५ महिनाको हुँदा बुवाआमाले उनलाई काँखी च्यापेर सबै तराई झरेका थिए ।
एसएलसीपछि ज्यामी काम
२०४० सालमा उनले एसएलसी दिए । आर्थिक अवस्था कमजोर भएका उनको लागि एसएलसीपछि कसरी हुन्छ, धेरथोर पैसा कमाउनुपर्छ भन्ने थियो । उनी एसएलसीको अन्तिम परीक्षा दिएर कामको खोजीमा निस्किए । त्यतिखेर चतरामा सिँचाइको नहर निर्माणको काम बल्ल शुरू भएको थियो । चिनियाँ कम्पनीले ठेक्कामा लिएको सडक तथा नहरको काम भइरहेको ठाउँमा उनी पुगे । उनीसँगै साथीहरू पनि कामको खोजीमा त्यहीँ पुगेका थिए । कामको खोजीमा गएका सबैले काम गरेनन् । तर भीम काम गर्न थाले ।
उनले सम्झिए, ‘साथीहरूसँग काम गर्न गएको म ज्यामी भएँ साथीहरु फर्किए, यो बेला मलाई मेहनतभन्दा पनि पैसाको खाँचो थियो ।’ भर्खरै प्रवेशिका परीक्षा दिएका कलिलै उमेरका कामको सिलसिलामा इमान्दारीका साथ खन्ने, भारी बोक्ने, सिमेन्टका बोरा बोक्ने काम गरेको भीमले सुनाए ।
उनले पाएको मौका
दैनिक ज्यामीबापत ७ रुपैयाँमा काम गर्न थालेका भीमले काम गरेको केही दिनमा उनलाई सुपरभाइजरको जिम्मेवारी दिइयो । उनले जिम्मेवारी आफूले काम गर्न थालेको सातै दिनमा प्राप्त गरेको बताए । उनी आफू सुपरभाइजर भएर पनि काममा कुनै कन्जुस्याइँ गरेनन् । उनले सुपरभाइजरका रुपमा २० जनाको हाजिरी राख्नुपर्ने थियो ।उनको कामलाई चिनियाँ ठेकेदारले नियालिरहेका हुन्थे । उनले यो कामलाई निरन्तरता दिँदै आएका त थिए नै, त्योसँगै उनलाई बेला–बेला विभिन्न अवसर आउँदै गएका थिए । ३ महिनापछि उनलाई एउटा प्रस्ताव आयो – चिनियाँ भाषा सिक्ने । उनले पनि नकार्न सकेनन् । ‘चिनियाँ भाषा सिक्ने ४ जना थिए,’ उनले सम्झिए, ‘चिनियाँ भाषा सिक्नेमा पनि मलाई भेट्टाउन चारै जनाले सक्दैनथे ।’असाध्यै गाह्रो चिनियाँ भाषा अन्य तीन जनाले सिक्न छाडे । तर भीम एक्लै भएर पनि सिके । ६ महिना नबित्दै चिनियाँ भाषा नेपालीमा उल्था गर्न सक्ने भएको उनले सम्झिए । उनले ६ महिना चिनियाँ भाषा सिकेपछि उनलाई अनुवादको जिम्मेवारी दिइयो ।
मोडिएको जीवन
जब एसएलसी परीक्षाको नतिजा आयो, अनि उनलाई जागिर खाने कि पढाइलाई अगाडि बढाउने भन्ने धर्मसंकट आयो । ‘जागिर नखाउँ घर परिवारमा केही भएपनि राहत मिलेको थियो । तर पढाइ छाडौं भोलिको दिनमा आउने उल्झनले निम्तने जटिलता नै समस्याको विषय भएको थियो,’ उनले भने ।चरम गरीबीमा जागिरको आम्दानीले ठूलो भरथेग गरिरहेको उनलाई जागिर छाड्दा आउने समस्याबारे राम्ररी थाहा थियो । जागिर छाड्ने निर्णयमा पुगेका घिमिरेलाई चिनियाँले गुमाउन चाहेनन् र क्याम्पस पढ्ने समय व्यवस्थापन मात्र हैन, आउजाउको लागि सवारीको व्यवस्था गरेपछि उनी दंग भए ।
नयाँ जिम्मेवारी
२०४७ सालमा चिनियाँ कम्पनी र टोयटा कम्पनीले विराटनगरको टंकिसिनवारीमा इँट्टा कारखाना खोलेपछि उनको जीवनमा अर्को नयाँ किरण थपियो । भीमलाई चिनियाँ कम्पनीको तर्फबाट १५ जना प्राविधिकको टीमको लिडर बनाइयो । त्यसैको सिलसिलामा उनी नियमित काममै लागे ।
आफै मालिक बन्ने प्रयास
एउटा मजदूरको रुपमा काम गर्न थालेका घिमिरेको जीवन राम्रैसँग चलिरहेको थियो । यसैबीच उनी आफै उद्योग खोल्ने मनस्थितिमा पुगे । ‘आफैं व्यवसाय थाल्नुपर्छ भन्ने सोचें,’ उनले भने, ‘चिनियाँ कम्पनीहरूको जागिरलाई छाडिदिएँ, सल्लाहकार मात्र बसें ।’त्यहीबेला उनले ढुवानी सेवा सञ्चालनमा ल्याएसँगै कन्स्ट्रक्सनको काम पनि थालेको बताए । आफैं मालिक हुने अभियानमा लागेका उनले ठेक्कापट्टाको काम पनि गर्न थाले । आफैंले विराटनगरमा घर बनाए । शुरूमा जागिर खाएर जम्मा गरेको ३ लाख रुपैयाँ र केही बैंकबाट लिएको ऋणबाट व्यापार थालेको उनले बताए ।उनले सुनसरीको आफ्नै जग्गामा इँट्टा उद्योग खोले । आफ्नै लगानीमा जमेका उद्योगी घिमिरेले टोयटा कम्पनीको पूर्वाञ्चल डिलर मात्र सञ्चालन गरेनन्, २०६३ सालमा पेट्रोलपम्प किने । इँटा उद्योग पनि विस्तार गरेर २ वटा पुर्याए ।
संघर्षको जगमा ठडिएको कद
आजका भीम घिमिरे संघर्षै–संघर्षको जगमा बनेका हुन् । मेहनत र इमान्दारीको इँटाले बनेका छन् भीम । त्यसैले अतितमा गरेको संघर्ष भुल्दैनन्, लुकाउँदैनन् । भन्छन्, ‘मैले गरेको संघर्षबाट अरुले प्रेरणा लिउन् भन्ने चाहन्छु ।’सन् २००४ मा उनलाई डीभी चिट्ठा पर्यो । व्यवसाय छाडेर सपरिवार अमेरिका गए । न पत्नी अजितालाई अमेरिका चित्त बुझ्यो, न पति भीमलाई । नेपालमै परिवार र समाजको सेवा गरेर बस्ने इच्छाका साथ गरीबीबाट उक्सिएका उनको परिवारलाई अमेरिका बसाइ पछुतो लाग्यो ।अमेरिकाको वैभव र चमकधमकमा भीम र अजिता झण्डै डिप्रेसनको सिकार बने र गएको ३ सातामै नेपाल फर्किए । त्यसपछि फेरि व्यवसायलाई नै निरन्तरता दिन थाले ।
उनका अनुसार सफलताको रथमा दुईवटा पाटा छन्, एउटा आफू र अर्को पत्नी अजिता । सबै कम्पनीको नाम एबी राखेका छन् । पत्नी अजिता र आफ्नो नामको पहिलो अक्षरबाट एबी गु्रप नाम राखेका हुन् ।अजिता कोशी अञ्चल अस्पतालमा नर्सिङ इन्चार्ज छिन् । भीम भन्छन्, ‘घरमा शान्ति भयो भने उन्नति हुन्छ । आज म जे छु, यसको श्रेय अजितालाई दिन्छु ।’ अहिले सात वटा विभिन्न कम्पनी चलाइरहेका घिमिरेले सात सयभन्दा धेरै कर्मचारी र मजदुरलाई रोजगार दिएका छन् । कृषि फर्मतर्फ समेत लागेका घिमिरेले मेहनत, इमान्दारी, अध्ययन अनि सकारात्मक सोचका साथ अघि बढ्यो भने सफल भइने बताए ।
उनकाे सन्देश : ठुलाे लगानी गरेर विदेश जान भन्दा नेपालमा नै केही गर्न सक्ने प्रसस्तै सम्भावना रहेकाे छ । त्यसकाे लागि मेहनती, आफ्नाे कर्म प्रतिकाे विस्वास पनि हाे । मेराे मेहनत र आफु प्रतिकाे विस्वासले नै आफु सफल भएकाे उनकाे दाबी छ ।