इलाम, २० माघ । इलाम अस्पतालमा आइतबार बिहान अविवाहित युवतीले जन्म दिएकी शिशुको बुवाले आमा र बच्चा दुवैलाई स्वीकार गरेका छन् । बच्चा जन्मिएपछि युवतीलाई बाबु को हो भनी सोधीखोजी गर्दा देउमाई नगरपालिका शिद्धिथुम्काका सुमन ल्वागुन रहेको बताएकी थिइन् ।
सुमनले पहिले भने आफूलाई लगाएको आरोप झुटो भएको बताएका थिए । तर विगत केही महिनाअघि मानव अधिकार मञ्च इलाममा कामसमेत गरेका सुमनसँग गएको चैत महिनामा चिनजान भएको युवतीले बताएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार, चिनजानपछि सामाजिक सञ्जालमा कुराकानी हुने क्रम बढेर गएको र वैशाखमा अध्ययनका लागि इलाम सदरमुकाम आएको समयमा शारीरिक सम्बन्ध भएको शिशुकी आमाले जिकीर गरेकी थिइन् ।
अस्पतालको शैयामा रहेकी आमा सुनुवारले ल्वागुन नै रहेको बताएपछि आरोपित ल्वागुनले समेत दुई जना बीच शारीरिक सम्बन्ध भएको स्वीकार गर्दै आमा र बच्चा जिम्मा लिन राजी भएका हुन् । सन्दकपुर गाउँपालिका–३, की १९ वर्षीया बालिका सुनुवारले आइतबार बिहान साढे दुई बजे इलाम अस्पतालको शौचालयमा छोरीलाई जन्म दिएकी हुन् ।