‘भेनेजुएला प्रकरणमा प्रचण्डको विज्ञप्ति अनावश्यक’

‘भेनेजुएला प्रकरणमा प्रचण्डको विज्ञप्ति अनावश्यक’

काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिएका छन्।

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता खड्काले भने,‘प्रचण्डजीले भेनेजुएला प्रकरणमा अमेरिकाले हस्तक्षेप गर्यो, साम्राज्यवादी कु भन्नुभयो। त्यसरी भन्नु आवश्यक थिएन।’

नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किसकेपछि सरकारले पनि भेनेजुएला प्रकरणमा प्रचण्डकै लाइनामा वक्तव्य जारी गरेको सुनाए। उनले भने,‘रुसले क्रिमियामा हस्तक्षेप गर्दा उहाँहरु किन बोल्नुभएन ? सिरियामा किन बोल्नुभएन् ?’

'सरकारले पनि प्रचण्डकै लाईनमा वक्तव्य जारी गर्यो। नेपाल र अमेरिकाबीच १९४७ देखि कुटनीतिक सम्बन्ध छ, हामीलाई अमेरिकाले असाध्यै ठूलो आर्थिक सहायता गर्दै आएको छ। नेपाल सरकारले यस्तो वक्तव्य जारी गर्नु आवश्यक थिएन्’, उनले भने। खड्काले अमेरिकालाई नेपाल सरकारले चिढ्याउने काम गर्नु आवश्यक नै नभएको जिकिर गरे।

उनले ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएकोले चीन रिसाएको हो कि भनेर त्यो सन्देहलाई मेटाउन प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध यस्तो वक्तव्य दिएको हो कि भन्ने कता–कता आफूलाई लागेको पनि जिकिर गरे।

फरक प्रसँगमा उनले सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको आरोप लगाए। उनले भने,‘अहिले मुलुकको अर्थतन्त्र डामाडोल छ। यो ५ महिनामा ५ खर्ब ६९ अर्बको व्यापार घाटा छ। निजी क्षेत्रको पनि त्यस्तै समस्या छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्