मुख्यमन्त्रीकाे माेह : निजी शोरुम उद्घाटन गर्न हेलिकप्टर , चिढिए कार्यकर्ता

मुख्यमन्त्रीकाे माेह :  निजी शोरुम उद्घाटन गर्न हेलिकप्टर , चिढिए कार्यकर्ता

ओखलढुंगा, २८ माघ ।  प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको शोरुम उद्घाटन गर्न हेलिकप्टर चढेर ओखलढुंगा पुगेका छन्  । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्स प्रालिले सञ्चालन ल्याएको शोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार पुगेका हुन् ।

मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बीरबाबु गुरुङसहित सोलुखुम्बुको पत्तालेमा केही समय हेलिकप्टर राखेर हिमपात भएको क्षेत्र र महालंगुर हिमश्रृंखला अवलोकनपछि रुम्जाटार पुगेका थिए ।  उनी महिन्द्रा कम्पनीका प्रतिनिधि, सांसद गुरुङसहित रुम्जाटार विमानस्थलमा समिट हेलिकप्टरबाट आईतवार  शोरुम उद्घाटनपछि साँझ काठमाण्डौ फर्किएका थिए ।

रुम्जाटार अटोमोबाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको बताइन्छ । गुरुङकै पहलमा मुख्यमन्त्री राई कम्पनीको शोरुम उद्घाटन गर्न पुगेका हुन्  । यसअघि थाइल्याण्ड हुँदै अमेरिका जाँदा पनि मुख्यमन्त्री राई सांसद गुरुङकै खर्चमा अमेरिकासम्म पुगेको आरोप लगेको थियो ।

निजी कम्पनीको उद्घाटन गर्न मुख्यमन्त्री नै आउनु उपयुक्त नभएको सरोकारवाले बताएका छन् । नेकपाका नेता बाबुराम गौतमले समग्र प्रदेशको विकास निर्माणमा असर पर्ने गरी स–साना काममा मुख्यमन्त्री कुद्न उपयुक्त नभएको बताए । उनले भने , ‘सबै क्षेत्रमा पुगेर जनताको अवस्था र विकासबारे बुझ्नु उपयुक्त हो, तर समानुपातिक हिसाबले सबै ठाउँ जानुपर्छ ।’

मुख्यमन्त्री भएपछि राई ओखलढुंगा तीन पटक पुगिसकेका छन्  ।   तर नेकपाका कार्यकर्ता भने उनकाे भ्रमणमाथि प्रश्न उठाउँदै आएका छन् । सदरमुकाममै आउँदा उनी नेकपाको कार्यालय नपुगी दिनभरि बसेर फर्किएपछि कार्यकर्ता चिढिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्