प्रदेश–१ मा टिपरको आतंक : साउनयता टिपरको ठक्करबाट १० जनाको मृत्यु

प्रदेश–१ मा टिपरको आतंक : साउनयता टिपरको ठक्करबाट १० जनाको मृत्यु

विराटनगर माघ २८ ।

प्रदेश–१ मा टिपरको आतंक मौलाउँदो छ । ग्रामीण क्षेत्रमा मात्र नभएर सहरी क्षेत्रमासमेत यसबाट हुने दुर्घटनाको जोखिम बढेको छ । प्रहरी निगरानी र ‘पिक आवर’ मा रोक लगाए पनि दुर्घटनामा कमी आएको छैन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा बालिकाको मृत्यु भएको दुई साता बित्न नपाउँदै विराटनगरमा फेरि टिपरको ठक्करबाट आइतबार एकजना साइकल चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका २ बरगाछीमा तीव्र गतीमा रहेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट आइतबार अन्दाजी ४५ वर्षीय साइकलयात्री मोरङको कटहरी गाउँपालिकाका लगनलाल राजवंशीको मृत्यु भएको छ । राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो ।

पूर्वबाट बरगाछी चौकमा आइपुगेर उत्तर कञ्चनबारीतर्फ मोडिन खोज्दा को १ ख ७०९२ नम्बरको टिपरले साइकलयात्री पुरुषलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । टिपरका चालक इटहरीका ५६ वर्षीय नुना सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकाको मृत्यु भएको घटना सेलाउन नपाउँदै विराटनगरमा टिपरकै कारण अर्को दुर्घटना भएपछि प्रहरीले अनुगमन र निगरानी बढाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।

गत माघ १४ गते मोरङको सुन्दरहरैंचा नगरपालिका ९ मा टिपरको ठक्करबाट ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोसित स्थानीयले सातवटा टिपरमा आगजनी गरेका थिए । त्यो घटनापछि नगरपालिका क्षेत्रमा नपाकै अगुवाइमा टिपर सञ्चालनमा रोक लगाइएको थियो । नगरपालिकाका प्रमुख शिव ढकालले भने,‘‘अहिले भने बढी भीडभाड हुने र आउजाउ हुने समयमा नचलाउने नियम लगाइएको छ ।’’ सुन्दरहरैंचामा गत कात्तिक १३ गते पनि टिपरले स्कुटरलाई ठक्कर दिँदा चालक उदयपुर रौतामाईकी ३५ वर्षीया किगिता कटुवालको मृत्यु भएको थियो ।

१० जनाको मृत्यु, ४३ घाइते
प्रदेश १ का विभिन्न जिल्लामा टिपरको ठक्करबाट यात्रुको मृत्यु हुने दर बढ्दो छ । सबैभन्दा धेरै मोरङका घटना भएका छन् । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्यांकअनुसार साउनदेखि माघ २७ गतेसम्म टिपरको ठक्करबाट प्रदेशमा १० जनाले ज्यान गुमाएका छन् । घटनामा ४३ जना घाइते भएका छन् । सबैभन्दा धेरै सातवटा घटना मोरङमा भएका छन् । ती घटनामा यो जिल्लामा चार जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् ।

तथ्यांकअनुसार यो अवधिमा उदयपुरमा चारवटा दुर्घटना भएकोमा तीन जनाले ज्यान गुमाएका छन् । घटनामा परी उदयपुरमा मात्रै २९ जना घाइते भएका थिए । गत मंसिर ११ गते टिपर पल्टिदा २९ जना फुटबल खेलाडी घाइते भएका थिए । यो अवधिमा सुनसरी, सोलुखुम्बु र भोजपुरमा टिपर दुर्घटना भएका थिए । दुर्घटना रोक्न प्रदेश सरकारले ‘पिक आवर’मा साँझ बिहान टिपर सञ्चालनमा रोक लगाएको छ तर पनि दुर्घटना भने घट्न सकेको छैन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठ प्रहरीकोतर्फबाट टिपरको निगरानी बढाइएको बताउँछन् । भने,‘‘सहरी क्षेत्र र बढी भीडभाड हुने इलाकामा बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र अपरान्ह ४ देखि ६ साँझ बजेसम्म टिपर सञ्चालनमा रोक लगाएका छौं ।’’

प्रदेशसभामा सांसद बिन्दिया कार्कीले टिपर आतंकबारे आफ्ना धारणा राख्दै यसका चालकलाई लाइसेन्स दिने क्रममा कडाइ गर्नुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएकी छन् ।

प्रस्तुति : कुमार लुइँटेल / बारखरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्