ब्यजदरकाे बिषयमा विराटनगरका ब्यापारी प्रधानमन्त्रीसम्म, माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

ब्यजदरकाे बिषयमा विराटनगरका ब्यापारी प्रधानमन्त्रीसम्म, माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

विराटनगर, ४ फागुन । ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायी र सरकारबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उद्याेग सङ्गठन माेरङ र माेरङ ब्यापार सङ्घकाे टाेली प्रधानमन्त्रीसँग छलफल गर्न हिजै काठमाडाै गएकाे थियाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अर्थमन्त्री डा.युवराज खतिवडा, उद्योग मन्त्री मातृका यादव, गभर्नर चिरञ्जीवी नेपालसमेतकाे सहभागीता  उद्योगीसँग छलफल भएको हो । प्रधानमन्त्री ओलीले उद्योगीको माग सम्बोधन गर्न अर्थमन्त्री खतिडालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री बैङ्क ऋणको ब्याज र बीमा कम्पनीले विभिन्न शीर्षकमा लिने गरेको प्रिमियममा हस्तक्षेप गर्न निर्देशन दिएको छलफलमा सहभागी उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिएका छन् ।

अत्यधिक ब्याजदरका कारण नयाँ उद्योग लगाउन र भएकालाई बिस्तार गर्न नै समस्या भएको भन्दै मोरङ व्यापार संघ र उद्योग संगठनले चरणबद्ध आन्दोलन घोषणा गरेका थिए । विराटनगरमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको सहभागितामा यसअघि भएको छलफलमा गभर्नर तथा अर्थमन्त्रीसँग छलफल गर्ने भनिएपछि वार्ता   टुंगिएको थियो । बालुवाटारमा भने उद्योगी व्यापारीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसमेत छलफलमा सहभागी थिए । विराटनगरबाट सुरु भएको ब्यादरविरुद्धको आन्दोलनमा केन्द्रीय नेतृत्वसमेत सहभागी भएपछि राष्ट्रिय रुप लिएको हो ।

प्रधानमन्त्रीले अर्थमन्त्री, गभर्नर र बीमा समितिका अध्यक्षलाई सम्बोधन गर्दै हस्तक्षेप गर्न निर्देशन दिँदै भने,‘‘पहिले–पहिले उद्योगी–व्यापारीले जनतालाई शोषण गरे भन्ने गुनासो आउने गर्दथ्यो । अहिले त उहाँहरू आफैँ हामी शोषणमा पर्यौं भन्दै हामीसँग आउनु भएको छ । यो गम्भीर अवस्था हो । यस विषयमा हामी थप गम्भीर बन्नुपर्छ ।’’ ब्याजदर ७ प्रतिशत उत्पादनमुलक र व्यवसायतर्फ ९ प्रतिशत लिनुपर्ने उद्योगीको माग छ ।

छलफलमा अर्थमन्त्री युवराज खतिवडाले बैङ्क र उद्योग दुबै फस्टाउन सक्ने गरी सरकारले काम गर्ने आश्वासन दिएका छन् । अनावश्यक रुपमा बैङ्कले लिने गरेको सेवा शुल्क पहिल्यै हटाएको भएपनि लिई रहेको भए त्यसको अनुगमन गरी कार्वाही हुने बताएको मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले जानकारी दिए   । छलफलमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, चन्द्र ढकाल र उमेश श्रेष्ठ, नेपाल उद्योग परिसंघ अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्रा पनि सहभागी थिए । छलफलमा सांसद एवम् उद्योगी मोती दुगड, मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडा र उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेले उद्योग तथा व्यवसायिक क्षेत्रको समस्या राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्