प्रदेश १ सरकारले ८ हजार बढी युवालाई स्वरोजगार बनाउँदै, १५ करोड खर्च गर्ने योजना

प्रदेश १ सरकारले ८ हजार बढी युवालाई स्वरोजगार बनाउँदै, १५ करोड खर्च गर्ने योजना

विराटनगर, ५ फागुन ।
प्रदेश १ सरकारले ८ हजार युवा स्वरोजगार अभियान चलाउने भएको छ । बिराटनगरमा सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश भित्रका स्थानीय तहका प्रमख तथा प्रदेश सांसद सहितको छलफलमा प्रदेश भित्र ८ हजार बढी युवालाई रोजगार बनाउनको लागि १५ करोड खर्च हुन लागेको हो ।

प्रदेश सरकारले हरेक पालिकाले आफ्नो क्षेत्रका बेरोजगार युवालाई तालिमको लागि सिफारिस गर्ने र ति सिफारिस भएका युवालाई सिटिईभिटीले तालिम प्रदान गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले ८ हजार बढी युवाले तालिम पाए पस्चात ९० प्रतिशतले रोजगारी पाउने ब्यवस्था प्रदेश सरकारले मिलाउने जानकारी दिए । त्यसका लागि बिभिन्न तयारीहरु भईरहेको उल्लेख गरे ।
छलफलमा सहभागी प्रदेश सांसद तथा स्थानीय तहका प्रमुखहरुले तालिम मात्र दिएर नहुने भन्दै रोजगारीको अबसर सिर्जना गर्नुपर्ने बताए । झापाका प्रदेश सभा सदस्य ओम प्रकाश सराबगीले कानुन निर्माण गर्ने चरणमा रहेकोले जग्गा बाँझो राख्नेलाई जरिवाना गर्ने कानुन बनाएर कृषिमै रोजगारीको अबसर सिर्जना गर्न सकिने बताए । उनले अहिले संचालनमा रहेका उद्योगमा पनि नेपाली कामदारले काम नपाउने तर भारतीय कामदारले काम गर्ने अबस्था छ । धेरै उद्योग भारतीय मजदुरको भरमा बस्नु पर्ने अबस्था आएकोले सम्बन्धित उद्योगसँग सहकार्य गरेर उसलाई आबस्यक पर्ने खालका तालिम दिएर बेरोजगार युवालाई स्वरोजगार बनाउन सकिने सुझाव दिए ।
अहिले पनि गर्ने हो भने धेरै गर्न सकिने भएपनि त्यसको लागि सिप नभएको उनको भनाई छ । आलु चिप्स, पापड, भुजिया लगायतका सामान्य कुरापनि भारतको भर पर्नुपर्ने बाध्यता रहेकोले यस्ता तालिम दिएर उद्यमी बनाउन सकिने र त्यहीबाट रोजगारी सिर्जना हुने बताए ।
प्रदेश सभा सदस्य साबित्रा रेग्मीले प्रदेशमा पहिला बेरोजगार युवाको तथ्यांक संकलन गर्नु पर्ने बताईन् । उनले अहिले प्रदेशमा कति युवा छन् ति युवाहरु मध्ये उनीहरुको अबस्था के छ, भन्ने स्पष्ट नहुँदासम्म वेरोजगार युवा भनेर कस्ता युवालाई मान्ने आधार स्पष्ट नहुने बताईन् । युवाको ईच्छा र चाहनाका आधारमा तालिममा सहभागी गराउने हो भने उनीहरुले ब्यवसायिक रुपमा कुनै काम शुरु गर्ने तथा सिकेको सिपको प्रयोग गर्ने उनको ठम्याई छ । प्रदेश सांसद उपेन्द्र घिमिरेले तालिम कसलाई दिने कसरी दिने भन्ने स्पष्ट नभएकोले रोजगारीको कुरा गर्दा स्थानीय तहको भुमिका पनि स्पष्ट हुनु पर्ने बताईन् ।
पालिका प्रमुख आश्वस्त भएनन्
प्रदेश सरकारले ८ हजार युवालाई रोजगारी प्रदान गर्ने पालिकाका प्रमुखहरु भने आश्वस्त भएका छैनन् । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले तथ्यांक नहुँदासम्म प्रदेश सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रम प्रभावकारी हुनेमा विश्वस्त हुने आधार नभएको बताए । उनले पहिला प्रदेश सरकारसँग तथ्यांक नभएको तालिम दिईहालेपनि उपलब्धि कसरी कार्यान्वयन गर्ने आधार नभएको बताए। ।

मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राईले नगरपालिकाले यस अघि शुरु गरेको स्वरोजगार सम्बन्धि तालिम संचालन भएपनि प्रभावकारी नभएको बताए । उनले अनुदान बाँडिएको भएपनि प्रभावकारी नदेखिएकोले प्रभावकारी बनाउन सक्नुपर्ने बताए । उदयपुरको बेलका नगरपालिकाका प्रमुख दुर्गा थापाले नेपालमै प्रसस्तै संभावना भएर पनि काम गर्न नसकिएको बताए । ‘उनले बालुवाबाट सिसा बन्छ तर हामीले त्यही बालुवाको सदुपयोग गर्न सकेका छैनौ, उनले भने, ‘प्रसस्तै संभावना छ त्यसको लागि दक्ष जनशक्तिको आबस्यकता छ ।’ छलफलमा सहभागी पालिकाका अध्यक्ष तथा मेयरहरुले बाहिरबाट आयातित बस्तुलाई रोकेर उत्पादन बढाउनु पर्ने बताए । साथै उत्पादित बस्तुको बजारीकरणमा प्रदेश सरकारले नीतिगत रुपमा नै सहयोग गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्