विराटनगरमा रोकिएला टिप्पर आतङ्क ? मोरङमा सुरु भयो टिप्पर चालक नियमन अनुशिक्षण

विराटनगरमा रोकिएला टिप्पर आतङ्क ? मोरङमा सुरु भयो टिप्पर चालक नियमन अनुशिक्षण

विराटनगर, ८ फागुन । जिल्ला ट्राफिक र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त रुपमा सडकमा टिप्परका कारण हुने दुर्घटना न्यूनिकरणका लागि टिप्पर चालक नियमन तथा अनुशिक्षण कार्यक्रम सुरु भएको छ । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकाको नेमुवामा बुधवारदेखि टिप्पर चालक नियमन सुरुवात गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले टिप्परका कारण दुर्घटना बढिरहेको जनगुनासो आउन थालेपछि टिप्पर चालकलाई नियमन गर्नका लागि नयाँ अभियानको सुरुवात गरिएको जानकारी दिए ।
‘टिपरका कारण दिनप्रतिदिन दुर्घटना बढिरहँदा जनमानसमा ठूलो चिन्ता छाएको छ,’ उनले भने, ‘टिप्परले जनतामा उतारेको डरयुक्त भावना र वातावरणको अन्त्य गर्न चालकहरुलाई आवश्यक प्रशिक्षण दिन सुरु गरिएको हो ।’
एसपी केसीले सडकमा गुड्ने टिप्परका हकमा धेरै प्रश्नहरु उब्जन थालेपछि टिप्परसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नु परेको बताए । कार्यक्रम सञ्चालन गर्न नेमुवामा ट्राफिक प्रहरीसहितको छुट्टै एउटा युनिट तयार गरिएको छ । परिचालित ट्राफिक प्रहरीले टिप्पर कुदाउन चालक योग्य छन् की छैनन्, उनीहरुसँग लाइसेन्स छ की छैन, चालकले लाइसेन्स कहिले पाएको हो, चालकको शैक्षिक योग्यता र उमेर कति छ भन्ने बारेमा अभिलेख तयार गर्ने छ ।
ट्राफिक प्रहरीले चालकलाई टिप्परका कारण भइरहेका दुर्घटना, दुर्घटना न्यूनिकरणका लागि अपनाउनु पर्ने सावधानी, तीव्र गतिका कारण हुने दुर्घटना लगायतका बारेमा सचेत गराउँदै चालकको अवस्था र सडकमा कुदाइने टिप्पर कण्डिशनमा भए नभएका बारेमा चेकजाँच गर्ने केसीले बताए ।
टिप्परको अवस्था परीक्षणका लागि छुट्टै प्राविधिक टोली परिचालन गरिएको छ । प्रत्येक दिन टिप्पर चालकले १५ मिनेट कार्यक्रममा सहभागी भएर ट्राफिक प्रहरीबाट प्रशिक्षण लिनु पर्नेछ । कार्यक्रममा सहभागी भएर पनि चालकले सडकमा ट्राफिक नियमको उल्लंघन गरेमा र तीव्र गतिमा टिप्पर कुदाएमा कारवाहीको दायरामा ल्याइने एसपी केसीले बताए । पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले टिप्परका कारण बढिरहेका दुर्घटना न्यूनीकरण गर्न आफूहरुले पनि सहयोग गर्ने बताए । उनले टिपर चालकहरुलाई आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्ने हिसावमा टिप्पर कुदाउन चालकहरुलाई आग्रह गरे । ‘तपाईहरु नियम उल्लंघन गर्नेतर्फ अग्रसर नहुनुहोस,’ कार्कीले चालकलाई आग्रह गर्दै भने, ‘बरु दुई मिनेट ढिलो पुग्दा कुनै फरक पर्दैन ।’ बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन माझीले सडकमा गुडिरहेका टिप्परको आतंक नियन्त्रण गर्न आवश्यक देखिएको अवस्थामा सञ्चालन गरिएको कार्यक्रम सान्दर्भिक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्