प्रदेश नं १ को प्रदेशसभा बैठकमा आज यस्ता विधेयक प्रस्ताव भए

प्रदेश नं १ को प्रदेशसभा बैठकमा आज यस्ता विधेयक प्रस्ताव भए

विराटनगर, फागुन ९ गते । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) र नियम ९५ बमोजिम सो प्रस्ताव सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गर्नुभएको थियो ।

यस्तै, ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्र्रस्तावस्वरुप सदनमा पेश भयो । प्रदेशसभाको आजको बैठकमा प्रदेश नं १ प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम सो प्रस्ताव उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पेश गर्नुभएको थियो ।

उहाँले यो विधेयकले उद्योग, पर्यटनलाई टेवा पु¥याउन, आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन मद्दत गर्नाका साथै अर्थतन्त्रलाई बलियो बनाउन मदत पुग्ने विचार व्यक्त गर्नुभयो ।

शून्य समय

बैठकको शून्य समयमा प्रदेशसभा सदस्य जयराम यादवले अन्तर्राष्ट्रिय मातृभाषा दिवस आजको दिनमा सबैलाई शुभकामना दिँदै संविधान प्रदत्त सबैको भाषा, संस्कृति, धार्मिकको विकासमा प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । सदस्य राजन राईले उदयपुरको घुर्मीदेखि कटारीसम्मको ४२ किमी बाटोको स्तरोन्नति गर्न प्रदेश सरकारसँग माग गर्नुभयो ।

बैठकको शून्य समयमा प्रदेशसभाका सदस्यहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश नं १ का पूँजीगत खर्च उत्साहजनक नभएको जानकारी दिनुभयो ।

कर्मचारी र कार्यालयहरुको समायोजनमा ढिलाइ भएका कारण अपूर्ण संयन्त्रले सोचेअनुसारको उपलब्धि हासिल नभएको बताउँदै मन्त्री आङ्बोले यस प्रदेशमा माघ मसान्तसम्ममा १० प्रतिशत मात्र पूँजीगत खर्च भएको जानकारी दिनुभयो । प्रदेशसभाको अर्को बैठक फागनु १२ गते मध्याह्न १२ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्