पुर्व राजाकाे सिराहादेखि काँकडभिट्टा हुँदै सिक्किमसम्मको कार्यक्रम

पुर्व  राजाकाे सिराहादेखि   काँकडभिट्टा हुँदै  सिक्किमसम्मको कार्यक्रम

काठमाडाै, ११ फागुन । पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमण सकेपछि मात्रै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। मध्यतराई र पूर्वाञ्चल भ्रमण लक्षित गर्दै गएको माघ १३ गतेदेखि दमक रहेका ज्ञानेन्द्र विभिन्न जिल्लाका धार्मिक स्थलको भ्रमण गर्ने तयारीमा  छन्।

काठमाडौंमा नातेदारको विवाहमा समेत सहभागी नभएर सुरक्षाकर्मीसहित एक्लै दमक बस्दै आएका  ज्ञानेन्द्र शाहको यो वर्ष तराईको पहिलो भ्रमण जनकपुर तय भएको छ। त्यसपछि तराईका सिराहा, सप्तरी, महोत्तरी, काँकडभिट्टा, उदयपुरलगायत एक दर्जनभन्दा बढी जिल्लाको भ्रमणको तय गरेका छन्। उच्चस्रोतका अनुसार धार्मिक भ्रमणका लागि सिक्किम र दार्जिलिङको कार्यक्रमसमेत तय भएको छ।

भारत भ्रमणको विषयमा अहिले कुनै निर्णय नभए पनि उच्च सम्भावना रहेको स्रोतको भनाइ छ। जिल्ला भ्रमणको सुरक्षालगायतका विषयमा जानकारी लिन यही दोस्रो सातादेखि रेकी गर्ने कार्यक्रम तय भएको छ। पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिनालगायतका पाहुना काठमाडौं फर्किएपछि दमकमा एक्लै बस्दै आएका ज्ञानेन्द्रले भ्रमणको तयारी गरेका छन् ।

कोमल दुई सातापछि  शुक्रबार आफन्तको विवाहमा सहभागी हुन काठमाडौं पुगेकी थिईन्  । श्री शमशेरको छोरा, नरशमशेरका नातिको विवाहमा सहभागी हुन कोमलसहितको आफन्त काठमाडौं आएका हुन्। यही १४ गते निजी सचिव तिमल्सिनासहित केही कर्मचारी दमक पुगेपछि रेकी गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ।

जिल्लास्थित विभिन्न धार्मिकस्थल भ्रमणको तयारी गर्न स्थानीय राजावादी र विभिन्न दलका कार्यकर्ता लागिरहेका छन्। समितिमार्फत ज्ञानेन्द्रको भ्रमणको मिति तोकिएको छ। हिन्दू धर्म र राजतन्त्र विषयमा तातो बहस चर्किंदै गएको अवस्थामा ज्ञानेन्द्रको दौडाहालाई महत्वका साथ हेरिएको छ।

‘उहाँ अझै करिब डेढ महिना दमक बस्ने र त्यहींबाट पश्चिम बंगालको सिक्किम र दार्जिलिङलगायतका स्थानमा भ्रमण गर्ने कार्यक्रम रहेको छ।’ –स्रोतले  भन्यो।

धार्मिक भ्रमणबाट जनताको चाहना बुझेलगत्तै राजनीतिक भेटघाट गर्ने तयारीमा रहेका ज्ञानेन्द्रले झन्डै एक महिना दमक बसाइका क्रममा कसैसँग कुनै भेटघाट गरेका छैनन्। ‘पहिला जिल्ला भ्रमण, त्यसपछि मात्रै भेटघाट गर्ने तयारी भइरहेको छ।’ –स्रोतले भन्यो।

सशस्त्रका डीएसपी शिव राउतसहित करिब ४० जना सुरक्षाकर्मीको भित्री र बाहिरी सुरक्षा घेराभित्र बस्दै आएका ज्ञानेन्द्र यही फागुन २० गतेपछि जिल्ला भ्रमणमा जाने भएका हुन् । ‘मिति यकिन भएको छैन, फागुन २० गतेदेखि पहिलो भ्रमण जनकपुर र त्यसपछि अन्य जिल्लामा हुन सक्छ।’ –स्रोतले भन्यो।

अघिल्लो वर्ष दमक पुग्दा तीनवटै राप्रपाका तेस्रो तहका नेतासँग भेट गरी सबै हिन्दू धर्म र राजसंस्थाप्रति लगाव भएका राजनीतिक दल एकढिक्का भएर हिन्दूराज्यको पक्षमा लाग्न आग्रह गरेका थिए ।  करिब दुई महिनाअघि पु्स २ गते पोखरा पुगेका ज्ञानेन्द्रले भेट गरेका अधिकांशले हिन्दू धर्म र राजतन्त्रलाई सँगै लैजानुपर्ने विषयमा बहस गरेका थिए।

पोखरा बसाइका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वमन्त्रीलगायत केही राजावादीसँग भेट गर्नुभएको थियो। अहिले कसलाई भेट गर्ने भन्ने विषयमा निधो भइनसके पनि राप्रपा, राप्रपा नेपाललगायतका पूर्वराजावादीका विभिन्न तहका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ। (नेपाल समाचारपत्र दैनिकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्