अष्ट्रेलियाको एआईबीटीमा विद्यार्थी अन्योलमा , दूतावासले सिड्नीमा हेल्प डेस्क खोल्दै

अष्ट्रेलियाको एआईबीटीमा विद्यार्थी अन्योलमा , दूतावासले सिड्नीमा हेल्प डेस्क खोल्दै

काठमाडौं फाल्गुन १२ ।

अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी (एआईबीटी) मा अध्ययनरत सयौं नेपाली विद्यार्थीको अवस्था अब के हुने भन्ने अझै अन्योल देखिएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावासले त्यहाँको डिपार्टमेन्ट अफ एजुकेसन एण्ड ट्रेनिङसँग नियमित सम्पर्कमा रहेर छलफल गरिरहेको जनाइएपनि ठोस निष्कर्ष निस्कन नसकेको दूतावासका एक अधिकारीले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार यही फागुन ९ गते नेपाली दूतावासले सरोकारवालाहरुसँग पनि छलफल गरेको थियो ।

सो छलफलपछि समस्याको सहजीकरणका लागि कार्यदल बनाउने समेत सहमति भएको छ । कार्यदलमा दूतावास, अवैतनिक महावाणिज्य दूतावास, अष्ट्रेलियामा रहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरुको छाता संगठन (सीआईएसए), भिजन फर मोटिभेसन (भीएफएम) का प्रतिनिधि छन् ।

यसैगरी विद्यार्थीलाई आवश्यक सुझाव तथा सूचना दिने उद्देश्यले मंगलबारदेखि सिडनीस्थित अवैतनिक महावाणिज्यदूतको कार्यालयमा हेल्प डेस्क समेत राखिने भएको छ । हेल्पडेस्कको सम्पर्क नम्बर ०२९४६००३२२ राखिएको दूतावासले जनाएको छ । उक्त हेल्प डेस्कमा सम्पर्क गरी विद्यार्थीले आफ्ना समस्या राख्न सक्ने र सूचना समेत लिन सक्नेछन् ।

अस्ट्रेलियन स्किल्स क्वालिटी अथोरिटी (एएसक्युए) ले यही १९ फेब्रुअरीका दिन एआईबीटीको दर्ता खारेजी गरेको र खारेजीको निर्णय उपर उक्त कलेजले २८ दिनभित्र एडमिनिस्ट्रेटिभ अपिल्स ट्रिबुनल (एएटी) मा अपिल गर्न सक्ने व्यवस्था रहेको हुँदा एएटीबाट अन्यथा निर्णय नभएमा खारेजीको निर्णय २६ मार्च २०१९ पछि मात्र लागु हुने सन्दर्भमा सम्बन्धित विद्यार्थीलाई कक्षामा उपस्थित हुन र कलेज नछोड्न दूतावासले अनुरोध गरेको छ ।

त्यसैगरी तत्काल भिसाको म्याद सकिन लागेका विद्यार्थीहरुले आफ्नो भिसा एक्स्टेन्सनका लागि कलेजमा सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ । दूतावासले पछिल्लो समस्याका बारेमा अष्ट्रेलिया सरकारसँग आवश्यक कुरा भइरहेकोले संयमित रहन र धैर्य गर्न समेत विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

यही फेब्रुअरी १९ देखि सिडनी र ब्रीस्बेनमा अध्ययनरत करिब १२ सय नेपाली विद्यार्थीलाई यो समस्या उत्पन्न भएको हो । नेपालबाट नै एजुकेशन कन्सल्टेन्सीहरुले नक्कली कलेजमा भर्ना गर्नका लागि अभिभावकहरुसँग २० लाख रुपैयाँसम्म ठगेर विद्यार्थी पठाएको खुलासा भइसकेको छ ।

ती कन्सल्टेन्सीहरु जोगिनका लागि अहिले सरकारी निकायहरुसँगको दौडधूपमा रहेको सम्बद्ध स्रोतहरुले बताएका छन् । आफूलाई पठाउने कन्सल्टेन्सीहरुले आफ्नो नाम नलिन भन्दै अलपत्र परेका विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई समेत धम्की दिएको यसअघि नै सार्वजनिक भइसकेको छ ।

यसैबीच नेपालस्थित अष्ट्रेलियन दूतावासलेपनि सयौंको संख्यामा नेपाली समेतका विद्यार्थीहरु अप्ठेरोमा परेको कुरामा जानकार रहेको जनाएको छ । दूतावासका अनुसार नेपाली विद्यार्थी पढेको एआईबीटी कम्पनीका निर्देशक फियोना कीले आफूहरु कानुनी उपचारको लागि सम्बद्ध कानुनी टोलीसँग परामर्श गरिरहेको जानकारी दिएकी छन् ।

अष्ट्रेलियन दूतावासले पनि विद्यार्थीहरुलाई पढाई जारी राख्न भनेको छ । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्स (डीएचए) ले २८ दिनसम्मको ग्रेस पिरियड दिने र अन्य कलेजमा ट्रान्सफर गर्न तथा भिसाको आवश्यक व्यवस्थाका लागि ३ महिनासम्मको समय दिने समेत बताएको छ ।

नेपालमा रहेको अष्ट्रेलियन दूतावासले कन्सल्टेन्सीहरुलाई सही सूचना मात्र दिन आग्रह गर्दै पढ्न जान चाहने विद्यार्थीलाई पनि सकेसम्म बढी सूचना लिएर मात्र जान सुझाव दिएको छ ।

उता कन्सल्टेन्सीहरुको पनि छानबिन गर्नकालागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले समिति गठन गरेको भएपनि त्यसले पीडित अभिभावकले अपेक्षा गरे अनुरुपको काम गर्न नसकेको सम्बद्ध अभिभावकहरुले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्