टिकाटालोको दुई दिन अघि किशोरीको आत्महत्या, कारण दाईजाे

टिकाटालोको दुई दिन अघि किशोरीको आत्महत्या, कारण दाईजाे

वीरगन्ज, १३ फागुन ।  टिकाटालोको तयारीमा रहेकी १८ वर्षीया किशोरीले आत्महत्या गरेपछि परिवारजन र सेढवावासी शोकमा डुबेका छन्।

पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवाका चन्द्रिका मुखिया बिनकी १८ वर्षिया छोरी लालसा कुमारीको बिहेका लागि टिकाटालो गर्न सोमबार भारतबाट केटा पक्ष आउने तय थियो। तर लालसाले शनिबार मध्यरातमा आफनै घरको कोठामा पासो लगाएर आत्महत्या गरेकी हुन्।

प्रहरीलाई खबर नगरी आइतबार साँझ परिवारजन र आफन्तले लालसाको शव घाटमा लगेर दाहसंस्कार गर्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि  वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ।

शनिवार मध्यरातमा आफनै कोठामा पासो लगाएर आत्महत्या गरेकी लालसको शव प्रहरीलाई खबरै नगरी गाउँ छेउको चन्द्रवती खोला किनारमा आइतबार साँझ ४ बजेतिर दाहसंस्कार गर्न लागेको अवस्था नियन्त्रणमा लिइएको हो।

‘दाइजो कारण’

दाइजो दिने परिवारको अवस्था नरहेका कारण किशोरीले आत्महत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सेढवाका इन्चार्ज प्रहरी नायव निरीक्षक राजेश चौधरीले बताए।

चौधरीका अनुसार केहि महिनाअघि पनि पर्साकै निचुटाका एक किशोरसँग लालसाको विहेको कुरा चलेको थियो। केटा पक्षले दाइजोबापत् ५० हजार रुपैयाँ र एउटा मोटरसाइकल दिनुपर्ने शर्त राखेका थिए।

तर लालसाको बुबा चन्द्रिका मुखिया बिनले परिवारको आर्थिक अवस्था देखाएर शर्तअनुसार दाइजो दिन नसक्ने जवाफ दिएपछि बिहे टरेको थियो।

भारतमा कम दाइजोमै बिहे हुने भन्दै चन्द्रिकाले सीमावर्ती गाउँमा छोरी लालसाको बिहेको कुरा चलाएका थिए। भारतका केटापक्षले पनि दाइजोमा ५० हजार रुपैयाँ नगद दिनुपर्ने शर्त राखेका थिए।

बिहेको टुंगो लगाउन केटा पक्ष लालसालाई हेर्न र टिकोटालो गर्न सोमबार आउने तय भइसकेको थियो।

बिहेमा केटा पक्षलाई दाइजो दिने परिवारको आर्थिक अवस्था नभएका कारण उनले आत्महत्या गरेको हुन सक्ने छिमेकीहरूको पनि दावी छ।

शनिवार राति चन्द्रिकाले परिवारका सदस्यसँग दाइजोमा ५० हजार पनि दिन सक्ने अवस्था नरहेको र दाइजो नदिँदा फेरि केटा पक्षले विहे नगर्ने भन्दै चिन्ता व्यक्त गरेको सँगै रहेका एक छिमेकीले बताए। लालसा पनि बाबुका कुरा सुनेर चिन्तित देखिएकी थिइन्।

पर्साका प्रहरी नायव उपरीक्षक शर्माले भने लालसाको आत्महत्याको कारण अहिले नै खुलिनसकेको बताए। ‘शव पोस्टमार्टमपछि अभिभावकहरूलाई बोलाएर सोधपुछ गर्छौँ। अहिले अनुसन्धान प्रारम्भिक चरणमा छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्