विश्वास रेग्मी
काठमाडौँ, फागुन १६ गते । बुधबार एयर डाइनास्टीको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा विशेष गरी पर्यटन क्षेत्रको प्रवद्र्धन र पर्यटकीय पूर्वाधार निर्माणले गति लियो । युवा नेताका रूपमा मन्त्रीको जिम्मेवारी सम्हालेपछि सरकार गठनको एक सय दिनभित्र हुने कामका विषयमा आफ्नो मन्त्रालयका योजना सार्वजनिक गरेर यसको शुरुवात गर्नुभएको थियो ।
त्यतिबेला खासगरी उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने ‘होल्ड’ को समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित यसको सञ्चालन अवधि १८ घन्टाबाट २१ घन्टा पु¥याउने घोषणा गर्नुभएको थियो । घोषणाअनुसार जेठ ७ गतेदेखि विमानस्थल २१ घन्टा नै सञ्चालनमा आयो । पछि त्यसलाई २२ घन्टा पु¥याइयो ।
लामो समयदेखि विवादका कारण अल्झिएको भैरहवास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको बाटो पनि उहाँकै पहलमा अघि बढ्यो । उक्त विमानस्थलको करिब ७० प्रतिशत काम पूरा भएको छ । असारभित्रै परीक्षण उडान गर्ने र भदौमा व्यावसायिक उडान गर्ने योजनासाथ काम भइरहेको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनिए पनि आधारभूत काम नै अघि बढ्न नसकेको अवस्थामा मन्त्री अधिकारीको सक्रियतामा अहिले त्यहाँको २२ प्रतिशत भौतिक काम पूरा भएको छ । सन् २०२० को शुरुवाततिर यसको निर्माण पूरा गर्ने गरी काम अघि बढाइएको छ ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा मन्त्री अधिकारीको सबैभन्दा धेरै सक्रियता रह्यो । गोरखापत्रसँगको पछिल्लो कुराकानीमा पनि उहाँले उक्त विमानस्थल निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको थियो । काठमाडौँस्थित विमानस्थलले क्षमताभन्दा धेरै सेवा दिइरहेको अवस्थामा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयास अघि बढाइएको थियो ।
उक्त क्षेत्रमा रहेका स्थानीयलाई अहिले मुआब्जा वितरणको काम पूरा भइसकेको छ । निजगढ विमानस्थललाई यस क्षेत्रकै ‘ट्रान्जिट हब’ बनाउने लक्ष्य उहाँको थियो । त्यस्तै काठमाडौँको आन्तरिक विमानस्थलको चापलाई व्यवस्थित गर्न त्यसको विकल्पका रूपमा काभे्रको नागिडाँडामा विमानस्थल बनाउन प्रयास पनि उहाँबाटै शुरु भएको थियो । अहिले उक्त विमानस्थलको प्रारम्भिक वातावरणीय मूल्याङ्कनको काम भइरहेको छ ।
मन्त्री अधिकारीकै कार्यकालमा नेपाल वायु सेवा निगमका दुई वटा वाइड बडी विमान खरिद प्रक्रिया पूरा गरेर ल्याई सञ्चालनमा आए । यसै विषयमा उहाँ केही विवादमा पनि पर्नुभयो । मन्त्री अधिकारीले नेतृत्वकर्ताका रूपमा पर्यटन क्षेत्रकै एउटा ऐतिहासिक तथ्याङ्क सार्वजनिक गर्ने अवसर पनि प्राप्त गर्नुभयो । मन्त्रालय सम्हालेको केही समयमै नेपालको पर्यटन आगमनको तथ्याङ्कले १० लाखको ‘माइलस्टोन’ मात्र पूरा गरेन त्यो सङ्ख्या १२ लाख आसपास पुग्यो ।
सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेर त्यसको सचिवालय स्थापना गर्नेदेखि प्रायः सबै प्रशासनिक काम पूरा भइसकेको अवस्था छ । २० लाख पर्यटक ल्याउने उद्देश्यसहितको उक्त भ्रमण वर्षका योजनामन्त्री अधिकारीका प्रायः भाषणहरूमा छुट्दैनथे ।
पर्यटन प्रवद्र्धनका लागि देशभर थप नयाँ एक सय गन्तव्यको पहिचान र स्थापित एक सय गन्तव्यको प्रवद्र्धनका लागि पनि उहाँको विशेष सक्रियता रह्यो । ती ठाउँको छनोट मात्र भएन त्यसको कार्यानवयनका लागि पर्यटन विभागबाट २५ लाख रुपियाँ निकाससमेत पठाइसकिएको छ । हरेक प्रदेशमा एउटा नमुना गन्तव्य छनोटको बहुवर्षीय योजना पनि यही बीचमा अघि बढेको छ ।
देशभर बन्द रहेका आन्तरिक विमानस्थलको पुनः सञ्चालनमा मन्त्री अधिकारीको खास जोड थियो । उहाँकै प्रयासमा दाङ, राजविराजसहित देशका विकट क्षेत्रमा निर्माण भइसकेका केही विमानस्थल पुनः सञ्चालनमा आए । कतिपय स्थानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन पनि शुरु भयो । निधन हुनुअघि उहाँ तेह्रथुमको आठराईमा विमानस्थल निर्माण सम्भाव्यताकै कार्यक्रममा सरिक हुनुहुन्थ्यो ।
आन्तरिक टर्मिनलको सेवा बिहान पाँच बजेबाट शुरु गर्ने प्रयास उहाँकै थियो । यसअघि विराटनगर, सिमरा, भैरहवा, नेपालगन्जमा मात्र रहेको रात्रीकालिन उडान यसबीचमा धनगढी र चन्द्रगढीमा पनि थप भएको छ ।
यसबीचमा महत्वपूर्ण द्विपक्षीय सम्झौताहरू पनि भए । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक थप हवाई रुटका लागि भारतसँग सहमति भई प्राविधिक टोली गठन भएर कामअघि बढेको छ । जापान र थाइल्यान्डसँग पूरानो हवाई सेवा सम्झौता पुनरावलोकन गरी उडान सङ्ख्या र गन्तव्य बढाउने सम्झौता भएको छ । नेपाल र कम्बोडियाबीच हप्तामा १४ ओटा उडान गर्न पाउने गरी काठमाडौंमा नयाँ हवाई सेवा सम्झौता सम्पन्न्न भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठन(आइकाओ)को गम्भिर सुरक्षा चासोबाट पनि नेपाल २०१८ को जुलाईबाट हटेको छ ।
मन्त्री अधिकारीको विशेष पहलमा नै हवाई यात्रुलाई प्रत्यक्ष लाभ पुग्ने मन्ट्रीयल महासन्धि संसद्बाट अनुमोदन भएको थियो । अन्तर्राष्ट्रिय उडानका क्रममा हुने दूर्घटनाबापत हवाई यात्रुले प्राप्त गर्ने बीमा सुविधामा नेपालीले अत्यन्त थोरै रकम मात्र पाउने अवस्था यसअघि थियो । उक्त महासन्धी अनुमोदन भएर कार्यान्वयनमा आइसकेपछि अब हवाई यात्रुको क्षतिपूर्ति बीमा पूरानो २० लाख रुपियाँबाट वृद्धि भई एक करोड ६० लाख रुपियाँ कायम भएको छ ।