विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव , शनिवार भारतको ‘चम्पावती’ हेर्न पाईने

विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव , शनिवार भारतको ‘चम्पावती’ हेर्न पाईने

विराटनगर, १७ फागुन ।
बुधबारदेखि विराटनगरमा सुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा शुक्रबार ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गरिएको छ ।

इटालीको इन्स्ताबिली भंगान्ती नाटक समूहले आरोहण–गुरुकुलको सुशीला कोइराला नाटकघरमा बिहिबार र शुक्रबार सो नाटक मञ्चन गरेको हो ।
फागुन २४ गतेसम्म चल्ने महोत्सवमा विभिन्न ९ नाटक मञ्चन हुनेछन् जसमा ४ वटा अन्य देशका र नेपालका ५ नाटक मञ्चन हुनेछन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले फागुन १५ गते उद्घाटन गरेको महोत्सवमा सोही दिन आयोजकले विराट पर्व नामको नाटक मञ्चन गरेको थियो । महोत्सवमा बंगलादेशबाट पनि नाटक समूह सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर सो समूहले सहभागी हुन नसक्ने जानकारी गराएको आयोजकले जनाएको छ ।
कला, साहित्य र रंगमञ्चको क्षेत्रमा काम गरिरहेको आरोहणले महोत्सव आयोजना गरेको हो । शनिबार भारतको ‘चम्पावती’ नाटक मञ्चन हुने तालिका छ ।
त्यस्तै श्रींलंकाको ‘लभ एण्ड लाइफ’ १९ गते, झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’ २० गते, परिवर्तन थिएटर काँकडभिट्टाको ‘विटुलो आख्यान’ २१ गते, अफगानिस्तानको ‘ता राहाये’ २२ गते, थिएयटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरू’ २३ गते र कदम थिएटर दमकको ‘गैंडा टाइम्स’ २४ गते मञ्चन हुने निश्चित भएको छ ।
अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका र पोख्त नाट्यकर्मीहरुसँग एकै मञ्चमा काम गर्न पाउँदा स्थानीयस्तरमा रहेका नाट्कर्मी र प्राविधिक लाभान्वित हुने नाट्कर्मीहरुको बुझाइ छ । यसअघि आरोहणले ३ पटक अन्तर्राष्ट्रिय र १० पटक राष्ट्रिय महोत्सव गरिसकेको छ ।
आरोहणको विराटनगर शाखाले भने एकपटक पूर्वाञ्चल नाटक महोत्सव गरेको थियो । अन्तर्राष्ट्रिय नाटक महोत्सवको आयोजनाले नेपालको रंगमञ्चिय परम्परालाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्