भरतमोहन थोत्रो कमिज लगाएर विराटनगरकाे आदर्श स्कुल जान्थे, छोरी पढाउन अण्डा बेचे

भरतमोहन  थोत्रो कमिज लगाएर विराटनगरकाे आदर्श स्कुल जान्थे, छोरी पढाउन अण्डा बेचे

विराटनगर, १९ फागुन ।  २२ वैशाख, १९९३ सालमा महोत्तरी जिल्लाको भ्रमरपुरा गाउँमा जन्मिएका स्वर्गीय भरतमोहन अधिकारी हाल ललितपुर महानगरपालिकामा बस्दै आएका थिए ।

महोत्तरीको भ्रमरपुरामा काठमालको लप्टन रहेका उनका बुबा रामचन्द्र सरुवा भई जलेश्वर माल अड्डामा हाकिम पदमा  कार्यरत रहेका बेला राणा शाहीले उनका बुबालाई त्यहाँबाट हटायो ।
जयप्रकाश नारायण लगायत भारतीय स्वतन्त्रता सेनानीहरु गुप्त रुपमा नेपालमा आश्रय लिन आउँथे । उनीहरुलाई आश्रय दिने व्यवस्था मिलाएको अभियोगमा राणाहरुले बुबा रामचन्द्रलाई जागिरबाट हटाएका थिए । त्यो बेला पनि उनी बुबासँगै थिए ।

बुबालाई जागिरबाट हटाएपछि  अधिकारी परिवार सुकुम्वासी भयो । काठमाडौँ लाजिम्पाटमा रहेको घरपनि राणाशाहीले जफत गर्यो  ।
जाने ठाउँ र टेक्ने आफ्नो भूमि खोसिएपछि  उनको परिवार  माइला बुवा बाबुराम अधिकारी  (चन्द्रमोहन अधिकारीका पिता) को आश्रयमा पुग्यो । चन्द्रमोहन अधिकारीपछि जनकपुरमा चर्चित कम्युनिष्ट नेता भए ।

भरतमोहन अधिकारी लगायतका परिवारलाई वीरगन्जमा छाडेर उनका बुबा कामको खोजीमा भौतारिँदै झापा  पुगेर काठ ठेकेदारकोमा काम गर्न थाले ।   काम पाएपछि रामचन्द्रले वीरगन्जमा अलपत्र अवस्थामा रहेका भरतमोहन अधिकारी सहितका  परिवारलाई  विराटनगर ल्याएका थिए ।
त्योबेला अधिकारी परिवारको बिराटनगरमा पनि कुनै जग्गा जमिन थिएन । आफ्नो केही नभएको अबस्थामा भरतमोहन अधिकारीका परिवार  विपी कोइराला (विश्वेश्वर प्रसाद कोइराला) को सगोलको घरमा नै आश्रय लिएर बसे ।

विपी कोइरालाका बुबा कृष्णप्रसाद कोइराला  र भरत मोहन अधिकारीका बुबा रामचन्द्र अधिकारी बीच नाता सम्बन्धका साथै सामाजिक राजनीतिक सम्बन्ध थियो  । विगतमा बनारसदेखि ठाउँठाउँमा सँगै बसेको दुई परिवार स्नेह मायाँ र सम्मान गर्ने भएकाले अधिकारी परिवार कोइराला निवासको संरक्षणमा गएको थियो । भरतमोहन अधिकारीको त्यही बेलादेखि विराटनगर  स्थायी बसोवासको थलो बन्यो ।

कोइराला निवासमा केही समय बसेको अधिकारी परिवार घरभाडामा लिएर बस्न थाल्यो । त्यसपछि पैसाको थप संकट परेको थियो ।  भरतमोहन अधिकारी  विद्यालय पढ्दाको समयमा खाली खुट्टा विद्यालय जान्थे भने  सधैं एउटै कमिज र कट्टुमा विद्यालय पुगेका हुन्थे ।

बाल्यकाल
भरतमोहनका बुबाका दुई परिवार थिए । रामचन्द्रकी जेठी श्रीमती  देवकुमारीका  ४ छोरा नरोत्तम, जनकमोहन, मदनमोहन र विश्वमोहन तथा एक छोरी सरोजनी हुन् भने कान्छी श्रीमती पूर्णकुमारी तर्फका  ४ छोराहरु मनमोहन, कृष्णमोहन, जगतमोहन र भरतमोहन हुन भने एक मात्र छोरी सुशीला हुन् ।

एकै उमेरका तीन दाजुभाइ जगतमोहन, विश्वमोहन र भरतमोहनसँगै खेल्ने, गुलेलीले चरा मार्दै हिँड्ने, पोखरीको डिलमा घुम्ने, बयरको झ्याङमा गई बयर टिपेर खाने बाल्यकालमा भरतमोहनको दैनिकी हुन्थ्यो ।  उनी उपद्रो स्वाभावका पनि थिए ।  बार्तलीमा सुकाई रहेको सिरकलाई घोडा बनाई चढ्दा एकैचोटी भुईमा बझारिएको  कहिल्यै बिर्सिएनन् उनले ।

शिक्षामा भरतमोहन
आफ्ना छोरालाई पढाउनको लागि भरतमोहनका बुबाले घरमा मास्टर राखिदिएका थिए ।  त्यो बेला  विश्वमोहन, जगतमोहन र भरतमोहन आँगनमा चट्टी बिछ्याएर पढ्थे । बुबालाई छोराछोरीलाई पढाउनु पर्छ भन्ने थियो ।  त्यही भएर उनका बुबाले  कखरा घरमै सिकाएर छोराहरुलाई थप शिक्षाको लागि पढ्न बनारस पठाएका थिए ।  भरतमोहनलाई बनारसमै रहेकी सुशीला कोइरालाले लेख्न सिकाएकी थिइन् ।

उनी बनारसबाट फर्किएपछि विराटनगरमा रहेको श्री जुद्धहाई स्कुल (हालको आदर्श उच्च माध्यामिक विद्यालय) मा कक्षा ३ मा नाम लेखाए ।  नियमित विद्यालय जान थालेका भरतमोहन अधिकारीको त्यो बेला लुगाको नाममा एउटा कमिज र कट्टु थियो । स्वअध्यन गरेर उनले म्याट्रिकुलेशन पास परेका थिए । त्यसपछि प्रमाणपत्र तह अध्ययन इलाहाबादको प्रख्यात युइङ्ग क्रिस्चियन कलेजबाट सकेका हुन्  । उनले स्नातक तहको अध्ययन बनारश हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशास्त्र ऐच्छिक विषयमा पूरा गरेका हुन् ।

पटना विश्वविद्यालयबाट न्यायिक विधि शास्त्रमा उनले सबैभन्दा बढी अंक ल्याएका थिए । कानुन संकायमा नेशनल कलेज भर्ना भएका अधिकारीले २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भएसँगै सोही विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गरे । त्यसपछि मस्कोको लुबुम्वा विश्वविद्यालयमा अर्थशास्त्र अध्ययनको लागि छात्रवृत्ति प्राप्त गरे ।  तर राजनीतिक प्राथमिकतामा पर्दा उनले छात्रवृति त्यागे ।

उनको विवाह २०२५ सालमा धरानकी ओमकुमारीसँग भएको हो । उनकी श्रीमतीको चाहना शिक्षण विधामा लाग्ने थियो तर कम्युनिष्टकी श्रीमती भनेर कसैले काम दिएनन्  ।  ३ छोरी लुना, लिमा र लिजाका पिता भरत मोहन अधिकारी छोरीलाई पढाउनको लागि कुखुरा पालेर अण्डा बेच्ने समेत काम गर्थे ।

पछि उनले मनमोहन अधिकारीको सल्लाहमा विराटनगरमा एउटा ल फर्म खोलेर  राजनीतिसँगै वकाल गरे ।
उनले विराटनगरको जिल्ला अदालत, धरानको अञ्चल अदालत र धनकुटामा क्षेत्रीय अदालतमा वकालत गर्थे ।

उनको संस्थागत आवद्धता
सन १९५२ अप्रिलमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका अधिकारी जीवनको अन्तिम कालसम्म पनि कम्युनिष्ट राजनीतिमा सक्रिय रहे ।
विसं २०१९ मा तेश्रो महाधिबेशनबाट नेपाल कम्युनिष्ट पार्टीको वैकल्पिक पोलिटब्यूरो सदस्य भए, उनी  । पाँचौँ महाधिवेशबाट पार्टीको स्थायी कमिटीमा निर्वाचित भए । छैठौ, सातौ र आठौँ महाधिवेशनमा लगातार स्थायी समितीमा निर्वाचित हुँदै आए । ५० वर्ष भन्दाबढी केन्द्रीय नेतृत्वमा बसेका उनले नेकपाको नवौं महाधिवेशनबाट पार्टीको कुनैपनि कमिटीमा भाग नलिने गरी स्वेच्छिक अवकाशको घोषणा गरेका थिए ।

उनले ३ पटक कार्यवाहक प्रधानमन्त्री, उपप्रधान, अर्थ, कानुन, उर्जा, निर्माण तथा यातायात, सिंचाई वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी बहन गरेका थिए । उनी महात्मा गान्धी र हो ची मिन्हबाट आफू प्रभावित भएको बताउँथे ।

भरतमोहनको लोकप्रिय कार्यक्रम
भरतमोहनले सत्तामा  भएको बेला आफ्नो गाउँ आफै बनाउँ, जेष्ठ नागरिक भत्ता जस्ता कार्यक्रम ल्याएका थिए ।  यस्तै स्थानीय सडक, स्वच्छ पानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सिपमुलक तालिम र रोजगारी, सामुदायिक बृक्षरोपण, साना जलविद्युत विकासबाट ग्रामिण विकास र साना तथा घरेलु विकास गरी ९ स को अभियान पनि चलाएका थिए ।

राष्ट्रिय विभुतिको नाममा २७ वटा राजमार्ग र सहायक राजमार्गको नामाकरण,  हेटौडा काठमाडौँ सुरुङमार्गको सुरुवातकर्ताको रुपमा पनि उनलाई लिइन्छ । सडकको दुबैतर्फ बृक्षरोपण, सुत्केरी भत्ता, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी र घर घरमा रोजगारी जस्ता लोकप्रिय कार्यक्रम उनको कार्यकालमा ल्याइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्