खोटाङमा १२ दिनमा १४७ बाँदर पक्राउ

खोटाङमा १२ दिनमा १४७  बाँदर पक्राउ

खोटाङ, २० फागुन । खोटाङमा १२ दिनमा १४७ वटा बाँदर समातिएको छ । राष्ट्रिय निकुञ्जमा पुर्‍याउने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट मंगलबारसम्ममा १४७ वटा बाँदर समातिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताए ।

अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउनका लागि गत फागुन ७ गतेदेखि लफ्याङबाट ‘बाँदर समाउ’ अभियान थालिएको हो ।

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि बाँदरलाई खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारीमार्फत जालमा समातेर निकुञ्ज पुर्‍याएर छाड्ने अभियान थालिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ वडाका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई जिल्ला भित्र्याइएको हो ।

आउँदाे जेठ मसान्तभित्रमा प्रतिवडा दुई हजारका दरले २५० वटा बाँदर समात्नेगरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीचमा सम्झौता भएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिएको ‘बाँदर समाउ’ अभियान जिल्लाका १० वटै स्थानीय तहमा पुर्‍याइने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्