सुखानीबाट प्रधानमन्त्री ओलीको घोषणा : पार्टी एकता सहिदको सपना पूरा गर्न भएको हो

सुखानीबाट प्रधानमन्त्री ओलीको घोषणा : पार्टी एकता सहिदको सपना पूरा गर्न भएको हो

झापा, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना पूरा गर्न पार्टी एकता गरिएको प्रष्ट पार्नुभएको छ । ४६ औं सुखानी स्मृति दिवशको अवसरमा आज झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको स्मरण पनि गर्नुभयो । ‘म भागेर बचें, नत्र त्यतिबेला म पनि मारिन सक्थें,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।’

प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पूरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पुरा गरेको बताउनु भयो । ‘झापा आन्दोलनका सहिद मात्र होइन, गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छ,’ प्रधानमन्त्री ओलीले सुखानीबाट भन्नुभयो, ‘म यही सहिद भूमीबाट भन्न चाहन्छु तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) को पार्टी एकता सहिदका सपना पूरा गर्नका लागि भएको हो ।’

प्रधानमन्त्री ओलीले लुटपाट गर्ने, चन्दा उठाउने धन्दा गर्ने समुहलाई कम्यूनिष्ट भन्न नसकिने पनि प्रष्ट पार्नुभयो । ‘जनतालाई चक्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म यो सहिद भूमीबाट फेरि एक पटक आह्वान गर्छु, कोही वास्तविक कम्यूनिष्ट हुनुहुन्छ भने नेकपामा आएर समाहित हुनुहोस ।’प्रधानमन्त्री ओलीले सरकारले देशैभरी विकासको माहोल ल्याएको जानकारी पनि गराउनु भयो । ‘केही तत्वहरुले जनता भाँड्न सरकारले केही गरेन भनेपनि सरकार विकास, निर्माण, सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

यसअघि प्रधानमन्त्री ओलीले सुखानी सहिदको सालिकमा माल्यापर्ण गर्नुभयो । २०२९ साल फागुन २१ गते झापबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुंइकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्