नियमविपरीत श्रीमतीलाई भान्से राखेर दिएको तलब उपमेयरले फिर्ता गरे

नियमविपरीत श्रीमतीलाई भान्से राखेर दिएको तलब उपमेयरले फिर्ता गरे

ताप्लेजुङ, २१ फागुन । फुङलिङ नगरपालिकाका उपमेयरले नियमविपरीत श्रीमतीलाई खुवाएको तलब भत्ताको रकम फिर्ता गरेका छन् ।

उपमेयर बमबहादुर भट्टराईको भान्सेको रुपमा नियमविपरीत नियुक्ति गरी मासिक रुपमा नगरपालिकाबाट तलब खुवाउँदै आएको रकम फिर्ता गरेका हुन् । २०७५ साल साउन १ गतेदेखि भान्सेमा नियुक्त गरी मासिक १५ हजार पाँच सय ९० रुपैयाँ दिइँदै आएको प्रारम्भिक अडिट रिपोर्टमा देखिएको थियो ।

अडिट रिपोर्टले नियमविपरीत भनी बेरुजु निकालेपछि बालकुमारी भट्टराईलाई मासिक रुपमा दिइएको ६ महिनाको तलब बराबरको ९६ हजार रुपैयाँ उपमेयरले मंगलबार (आज) पत्रकार सम्मेलन गरी फिर्ता गरेको प्रेस विज्ञप्ति प्रकाशित गरी बताएका छन् ।

उपमेयर भट्टराईले विभिन्न तहबाट ऐन, कानुन, नियम, नीति,  कार्यविधि, निर्देशिका आदि समयमा उपलब्ध हुन नसक्दा गल्तीका कारण यस्तो भएको प्रेस विज्ञप्ति प्रकाशित गरी आफूले नियम विपरीत बालकुमारी कार्कीलाई उपलब्ध गराएको रकम ९६ हजार रुपैंया फिर्ता गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफूले जानीजानी नगरेको भन्दै अन्जानमा गल्ती भएको उपमेयर भट्टराईले बताए । पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानीजानी गल्ती भएको बताउँदै समाचारमा आएका सबै कुरा यथार्थ नभएको र गल्तीलाई सच्याउँदै लैजाने बताए ।

मेयर प्याकुरेलले  भने, ‘गल्ती नै नभएको त होइन, पहिलो पटक जनप्रतिनिधि भएका कारण नियम कानुन नबुझेर पनि गल्ती भएको हो ।’ आउँदा दिनमा यस्ता गल्तीलाई सच्याउँदै लैजाने पनि मेयरले बताए ।

मंगलबार नै  विद्यार्थीहरुको संगठन अनेरास्ववियूले समेत नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । फुङलिङ नगरपालिकाका प्रतिनिधिहरुले घर बनाएको साथै विभिन्न शीर्षकमा दुरुपयोग गरेको र वास्तविक के भएको हो सत्य तथ्य २४ घण्टाभित्र बाहिर ल्याउन विज्ञप्तिमा माग गरिएको छ । नत्र कार्यालयमा तालाबन्दी गरिने समेत विज्ञाप्तिमा उल्लेख गरिएको छ । महालेखा परीक्षणले गरेको फुङलिङ नगरपालिकाको प्ररम्भिक अडिटमा झण्डै ३ कारोड बेरुजु आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्