विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु, मुख्यमन्त्री पनि छलफलमा सहभागी हुने

विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु,  मुख्यमन्त्री पनि छलफलमा सहभागी हुने

विराटनगर, २१ फागुन । विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु भएको छ।  नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा एक सय ३७ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ सहभागी छन्। सम्मेलन मंगलबारसम्म चल्नेछ।

प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले सम्मेलन उद्घाटन गर्दै प्रदेश सरकार गठन भई कार्य संचालनसमेत गरिरहेको अवस्थामा संसदबाट विभिन्न कानुन निर्माणले गति लिएको बताउँदै भने, "यो प्रक्रियामा महिला सदस्यसमेत निकै गहन रुपमा सहभागी हुनुहुन्छ।" उनले संविधानले नै सामाजिक न्याय र समावेशीलाई आत्मसात गरेकोले धेरै क्षेत्रहरुमा महिला सहभागिता बढ्ने क्रम सुरु हुनु सकारात्मक भएको चर्चा गरे।

उपसभामुख सरस्वती पोखरेलले अपेक्षा गरेजस्तो राज्य संचालनका विभिन्न तहमा महिलाको सहभागिता बढ्न नसकेको बताइन्। "संविधानले नै व्यवस्था गरेकोले त्यसमा अटाएका विषयमा महिला सहभागिता भएको छ", पोखरेलले भनिन्, "तर, प्रमुख जिम्मेवार पदमा भने अझै सहभागिता हुन सकेको छैन्।" नीतिगत रुपमा नै सुनिश्चित नहुञ्जेल महिला सभागिता बढ्न नसक्ने पोखरेलको भनाइ छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मेलनबाट प्रदेशभरका महिलाले भोग्नु परेको समस्या र उनीहरुको अधिकारको पैरवीको विषयमा निचोडमा पुग्न सकिने बताउँदै भने, "त्यसैलाई आधार बनाएर हामी योजना तथा कार्यक्रम तय गर्नेछौं।" मन्त्री घिमिरेले विराटनगर घोषणापत्र महिला अधिकारको पक्षमा कोषेढुंगा सावित हुने दाबी गरे।

कांग्रेस सचेतक सूयर्माराज राईले महिलाको सन्दर्भमा बनेका कानुन क्रमशः व्यवहारमा लागू हुँदै गएपनि अझ धेरै काम हुन बाँकी रहेको बताउँदै भने, "सही रुपमा समावेशी गराउने व्यवस्था संघीय गणतन्त्रमा भएपनि अझै धेरै सुधार गर्न जरुरी भएको बताए।"

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले समाजले महिलालाई गर्भदेखि नै विभेद गर्ने गरेको बताए। प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले महिला अधिकारको सवाल निकै लामो समयदेखि उठान भएकोले नै केही अधिकारहरु प्राप्त हुन सफल भएको बताए। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले महिलालाई उपप्रमुख पदमा मात्र सिमित गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिइन्।कार्यक्रममा प्रदेश सांसद राधा थापा, राप्रपाकी सांसद इन्दिरा राई, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शुभकामना मन्तव्‍य राखेका थिए। सम्मेलनको औचित्यबारे सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले प्रस्ट्याएका थिए। मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरु छलफलमा सहभागी हुँदैछन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्