मसुद अजहरका भाईसहित ४४ पक्राउ, हिन्दू विरोधी टिप्पणी गर्ने मन्त्री बर्खास्त

मसुद अजहरका भाईसहित ४४ पक्राउ, हिन्दू विरोधी टिप्पणी गर्ने मन्त्री बर्खास्त

इस्लामाबाद, २२ फागुन । पाकिस्तानले विद्रोही संगठन जैश–ए–मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाईसहित केही ठूलो विद्रोही नेतालाई पक्राउ गरि हिरासतमा लिएको छ ।पाकिस्तानी गृहमन्त्रालयका प्रवक्ताले मंगलबार ४४ जनालाई हिरासतमा लिइएको जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा मसूद अजहरका भाई मुफ्ती अब्दुर रऊफ र हम्माद अजहरसहित ४४ जना रहेका छन् । गृहमन्त्रालयले अनुसन्धानका लागि उनीहरुलाई हिरासतमा लिइएको जानकारी दिएको छ ।

काश्मिरलाई स्वतन्त्र बनाउनुपर्ने आवाज उठाउँदै आएको पाकिस्तानी भूमिमा क्रियाशील जैश–ए–मोहम्मदले भारत प्रशासित काश्मिरको पुलवामामा १४ फेब्रुअरीमा भएको हमलाको जिम्मेवारी लिएको थियो । सीआरपीएफको गाडीलाई लक्षित गरी भएको सो हमलामा ४० भन्दा बढी अर्धसैनिक जवानको मृत्यु भएको थियो । भारतले पाकिस्तानलाई आतंकवादी भन्दै दिएको सूचीमा सामेलहरु पनि यो गिरफ्तारीमा परेका छन् ।

पाकिस्तानी गृहमन्त्रालयका सचिव आजम सुलेमानले भने, ‘हो, पक्राउ परेकामध्ये केही भारतले नाम दिएको सूचीमा सामेल रहेकाहरु पनि छन् । तर उनीहरुका विरुद्ध कुनै सबुत दिएमा मात्रै उनीहरुविरुद्ध थप कारबाही अघि बढ्नेछ ।’ जैश–ए–मोहम्मद पाकिस्तानमा सन् २००२ देखि नै प्रतिबन्धित संगठन हो ।

हिन्दूविरोधी टिप्पणी गर्ने मन्त्री बर्खास्त
यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज अल हसन चौहानलाई हिन्दू विरोधी आपत्तिजनक टिप्पणी गरेपछि पदबाट बर्खास्त गरिएको छ ।

पञ्जाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारद्वारा जारी वक्तव्यमा इमरान खान नेतृत्वमा रहेका पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीले कुनै प्रकारको भेदभावलाई स्वीकार नगर्ने उल्लेख गरिएको छ ।

चौहानले हिन्दूलाई गाईको पिसाब खानेवाला भन्दै भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए । यो भनाईको भिडियो नै बाहिर आएपछि त्यसको कडा विरोध भएको थियो । उनले २४ फेब्रुअरीमा लाहोरमा एक कार्यक्रमा यस्तो विवादित कुरा बोलेको भिडियो क्लिप भाइरल भएको थियो ।

प्रधानमन्त्री इमरान खानका राजनीतिक मामला सल्लाहकार नईमुल हमले एक ट्विट गर्दै पीटीआईले कुनै मन्त्री वा सामान्य सदस्यले यस्तो बोलेपनि त्यो स्वीकार नगर्ने बताएका छन् ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा.मोहम्मद फैसलले ट्विटमा भनेका छन्, ‘पाकिस्तानी झण्डामा रहेको हरियो रंगलाई जसरी गर्व गरिन्छ, त्यसैगरी त्यहाँ सेता रंग पनि छ । जसले हिन्दू समुदायको योगदानको सम्मान गर्छ र उनीहरुले अपनत्वबोध गर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्