काबेली कोरिडोरअन्तर्गतको दोस्रो खण्डको निर्माण अन्तिम चरणमा

काबेली कोरिडोरअन्तर्गतको दोस्रो खण्डको निर्माण अन्तिम चरणमा

पाँचथर, २३ फागुन । काबेली कोरिडोरअन्तर्गतको दोस्रो खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । कोरिडोरका ३ खण्डमध्ये दमक—गोदक खण्ड यसअगावै सञ्चालनमा आइसकेको छ । अहिले गोदक—फिदिम (थापाटार) खण्ड सञ्चालनको अन्तिम चरणमा पुगेको हो । चैतदेखि सो खण्ड सञ्चालनमा आउने आयोजनाले जानकारी दिएको छ ।

इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन भएको विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने प्रसारण मार्ग काबेली कोरिडोर हो । कोरिडोरमार्फत मेची पहाडमा उत्पादित विद्युत्लाई झापा दमकको लखनपुर स्टेशनसम्म पुर्‍याई केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

कोरिडोरको तेस्रो खण्ड थापाटार—अमरपुरको निर्माणले समेत गति लिएको आयोजनाको निर्माण कम्पनीले जानकारी दिएको छ । कोरिडोरअन्तर्गत ९० किलोमिटर प्रसारण लाइनमा २६३ ओटा टावर निर्माण भएका छन् । दोस्रो खण्ड सञ्चालन भएसँगै पाँचथरको हेवा खोलामा उत्पादन भएको विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिनेछ । ताप्लेजुङको सिमाना काबेली नदी लगायतबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्न भने अझै केही समय लाग्ने भएको छ ।

कोरिडोरले चैतको अन्तिम सातामै सञ्चालनको तयारी गरेपछि यसक्षेत्रका इवाखोला, काबेली खोला, हेवाखोला, फावाखोला लगायतका स्थानबाट विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेका आयोजना सञ्चालकहरूले भने राहत महसूस गरेका छन् । प्रसारण लाइन नबन्दा विद्युत् उत्पादनको तयारीमा रहेका आयोजना सञ्चालकहरूले करोडौं रुपैयाँ घाटा व्यहोर्नु परेको थियो । हेवा खोला ए जलविद्युत् आयोजनाका निर्देशक पुष्पज्योति ढुंगानाले ढिलै भए पनि कोरिडोरले अन्तिम रूप लिएकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्