विराटनगर, २३ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको जागृती आधारभूत विद्यालय अगाडि झण्डा हल्लाउँदै एउटा गाडी विद्यालयको मुख्य गेटमा रोकियो । सो गाडीको अगाडि प्रहरीको गाडी थियो । प्रहरीको गाडी अगाडि हुनु अनि पछाडि झण्डा हल्लाउँदै गाडी आएको देखेपछि कुनै मन्त्री आएको होला भनेर धेरैले अड्कल काटे ।
दिउँसोको २ बजेर ५० मिनेट थियाे, विद्यालय बन्द भईसकेको थियो । भित्र हेर्दा विद्यालयमा एकजना शिक्षक भेटिईन्, उनको नाम थियो अमृता चौधरी । झण्डा हल्लाउँदै त्यहाँ पुगेका थिए संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल थिए । उनी विद्यालयमा पस्दै गर्दा विद्यालयका अध्यक्ष पनि देखिए । तर त्यो बेलासम्म विद्यालय बन्द भईसकेको थियो ।
विद्यालयमा पुग्ने बितिकै मन्त्री पोरखेलले विद्यालयको अवस्थाको बारेमा अध्यक्ष उपेन्द्र बस्नेतसँग बारेमा जानकारी लिए । अध्यक्ष बस्नेतले विद्यालयको अवस्था निकै नै समस्याग्रस्त रहेको बताए । विद्यालयका प्रधानाध्यापक कहिल्यै नआउने अनि आएर पनि हाजिर मात्र गरेर हिँड्ने गरेको गुनासो अध्यक्ष बस्नेतले सुनाए ।
श्री जागृती आधारभुत विद्यालयमा स्थायी दरबन्दी एकजनाको मात्र भएपनि विद्यालयमा पठन-पाठनको लागि सहयोगी शिक्षक २ जना रहेका छन् । स्थायी शिक्षकको दरबन्दीमा गणेश अधिकारी छन् । उनी नियमित विद्यालय आउँदैनन् ।
[caption id="attachment_78949" align="alignright" width="367"] विद्यालयका प्रअ गणेश अधिकारी[/caption]
स्थानीयका अनुसार उनी विद्यालयमा बिहानै १० बजेतिर कहिलेकाँही आउँछन् धेरै दिनको हाजिर गरेर फर्किन्छन् । लामो समयसम्म यस्तो समस्या भएपनि विद्यालय व्यवस्थापन समितिले केही महिना अगाडि अध्यक्ष आफैँ आएर हाजिरी रजिस्टरमा रातो समेत लगाएका थिए ।
छलफलकै क्रममा आइपुगेका विद्यालयका अभिभावक तथा स्थानीय भवानी तिम्सिनाले मन्त्रीसमक्ष विद्यालयको अवस्था बिग्रिएको बताए । विद्यालयका प्रधानाध्याक गाणेश अधिकारीको लापरवाहीका कारण जग्गादाता केदार अर्यालले विद्यालयका लागि दिएको ४ कट्ठा १ धुर जग्गा समेत संरक्षण गर्न नसकेको बताए ।
पहिला दिएको जग्गा ४ कठ्ठा १ धुरमा पर्खाल लगाउँदा ३ कठ्ठा २ धुरमा मात्र लगाएको उनको भनाइ थियो । पछि विद्यालयको जग्गा छुट्याउने बेलामा विद्यालयका प्रअ अधिकारीले विद्यालयको जग्गा समेत संरक्षण नगरेको तिम्सिनाले बताए । क्षेत्रफल थाहा भएका शिक्षकले यस्तै हो भनेर छाडीदिएको उनीहरूको भनाइ छ । नापी कार्यालयले जग्गा नमिलेको भनेपछि मात्र आफुहरुलाई यो बारेमा थाहा भएको स्थानीय बताउँछन् ।विद्यालयमै पढाउँदै आएकी अमृता चौधरीले मन्त्रीसँग आफ्नो गुनासो सुनाउँदै भनिन्, ‘मन्त्री ज्यु प्रअ शिक्षक सर कार लिएर कहिलेकाहीँ आउनुहुन्छ । पढाउनुहुन्न तर हामीलाई धम्क्याएर जानुहुन्छ । हामीलाई कारमा आउने शिक्षक हैन पढाउने शिक्षक पठाईदिनु पर्यो ।’
पढ्न आउने विद्यार्थीको संख्या ६० जना मात्र भएको स्कूलमा शिक्षक नआउँदा विद्यार्थी पनि आउन छाडेको उनले बताईन् । मन्त्रीले अधिकारीको बारेमा धेरै गुनासा आएपछि शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख राजेन्द्र बुढाथोकीलाई विद्यालयका बारेमा जानकारी लिएका थिए । बुढाथोकीले विद्यालयका शिक्षक अधिकारीको बारेमा पटक पटक गुनासाहरु आउने गरेको जानकारी गराए ।
विद्यालयका शिक्षक गणेश अधिकारी लामो समयदेखि जग्गा कारोवारीको रुपमा परिचित छन् । उनी जग्गाको कारोवारमा समय दिने तर विद्यालयलाई समय नदिने गरेको पाइएको हो । विद्यालयमा गएर पढाउन भन्दापनि बाहिरी काममा व्यस्त हुने उनलाई विद्यालयका कर्मचारी तथा सहयोगीले केही सोध्यो भने समेत थर्काउने गरेको आरोप लागेको छ ।
आफैं अनुगमनमा पुगेको पहिलो विद्यालयको यस्तो अवस्था देखेका मन्त्री पोखरेलले खेताला शिक्षकहरुकै कारण शिक्षाको अवस्था बिग्रिएको भन्दै यस्ता शिक्षक कार्वाहीलाई कार्वाही गर्ने बताए । उनले यो एउटा विद्यालय मात्र नभई धेरै यस्ता विद्यालयहरु रहेकोले कसरी व्यवस्थित गर्ने भन्ने बारेमा शिक्षा नीति बन्ने प्रक्रियामा रहेकोले अब कार्वाहीको रुपमा अगाडि लैजाने बताए ।
मन्त्री पोखरेलले आफु पहिला मन्त्री भएकै बेला यो विद्यालयको गुनासा पटक–पटक आएको कारण आफु कस्तो विद्यालय रहेछ भनेर अनुगमनमा आएको बताए । मन्त्री पोखरेलले जागृती आधारभुत विद्यालय मात्र हैन विराटनगर महानगरपालिका १ पाखरीयामा रहेको 'पोखरीया माध्यामिक विद्यालय', बुढीगंगा गाउँपालिकामा रहेको 'नरग्राम माध्यामिक विद्यालय'को समेत अनुगमन गरेका छन् ।