भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २४ फागुन ।  जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भोजपुरमा सडक निर्माण गर्दा १८ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा बिहिबार मुद्दा दायर गरेको हो।

गिरीलाई बिगो बमोजिम अशुल उपर गरी कानुन अनुसार कारबाही माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।

यस्तो छ अख्तियारले गिरीविरुद्ध विशेषमा दायर गरेको आरोपपत्र
तत्कालीन जिल्ला प्राविधिक कार्यालय, (पूर्वाधार विकास कार्यालय) भोजपुरका तत्कालीन सि.डि.ई. (उप-सचिव) लालु गिरीले भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सडक स्तरोन्नतिको लागि पेश्की तथा रनिङ्ग विल भुक्तानीको लागि पटक पटक रकम माग गरी रकम खातामा जम्मा गर्न तथा नगदै लिएको समेत गरी रू.१८,५०,०००।–( अठार लाख पचास हजार) घुस रिसवत लिएको भन्ने समेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज सि.डि.ई. लालु गिरीले तत्कालीन जिल्ला प्रविधिक कार्यालय, (पूर्वाधार विकास कार्यालय) भोजपुरमा प्रमुख जिल्ला ईन्जिनियर पदमा कार्यरत रँहदा भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सडक स्तरोन्नतिको लागि पेश्की तथा रनिङ्ग विल भुक्तानीबापत एम.के./वाई.पी.जे.भी.का प्रतिनिधीसँग पटक पटक रकम माग गरी बैङ्क खाता मार्फत तथा नगदै समेत गरी जम्मा रू.१८,५०,०००।–( अठार लाख पचास हजार) घुस रकम लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो रू.१८,५०,०००।–( अठार लाख पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

मदन कोइराला
उपसचिव एवं सहायक प्रवक्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्