बिराटनगरमा हुने साफ महिला च्याम्पियनसीप फुटबल : खेलको बिभिन्न च्यानलबाट प्रत्यक्ष प्रसारण हुने , तयारी पुरा

बिराटनगरमा हुने साफ महिला च्याम्पियनसीप फुटबल : खेलको बिभिन्न च्यानलबाट प्रत्यक्ष प्रसारण हुने , तयारी पुरा

विराटनगर, फागुन २५ गते । विराटनगरमा हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्रचार समितिका संयोजक किरण राईले जानकारी दिनुभयो ।

साफ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने शहीद रङ्गशालाको रङ्गरोगन, महिलामैत्री रङ्गशाला, चेञ्जिङ रुम, महिलामैत्री शौचालय, खेलाडी, प्रशिक्षक बस्ने स्थान लगायतका अन्य सम्पूर्णकार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

संयोजक राईले विदेशी खेलाडीले अभ्यास गर्ने खेल मैदान विराटनगरको जुट मिल तथा दिल्ली पब्लिक स्कुल विराटनगर र सुनसरी दुहबीको खेल मैदानको स्तरोन्नति तथा व्यवस्थापन लगायतका सबै तयारी पूरा भएको बताउनुभयो ।

अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले विराटनगरमा भएको खेल मैदान अन्तर्राष्ट्रियस्तरको रहेको र आवश्यक सम्पूर्ण सुविधा खेलाडीलाई उपलब्ध गराइने बताउनुभयो ।

उहाँले विराटनगरका खेल मैदानको सम्बन्धमा विश्व फुटबल सङ्घ, एशियन फुटबल र साफले मान्यता दिएको जानकारी दिनुभयो । उहाँले यहाँ हुने प्रतितियोगिता सफल बनाउन सबैको सहयोग आवश्यक छ भन्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रियस्तरको खेल पुनः ल्याउने विश्वास दिलाउनुभयो ।

विराटनगरमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालनबाट महिलालाई खेलखेल्न हौसला प्रदान गर्नुका साथै फुटबलको माहौल सिर्जना हुने अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले नेपाली महिला टिम उच्चस्तरको रहेको प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली महिला टिम यस प्रतियोगितापछि आगामी महीना म्यानमारमा विश्व कप फुटबलको छनोट प्रतियोगिता समेत विजय प्राप्त गर्ने विश्वास उहाँको छ । एशियन महिला फुटबलमा नेपाली महिला टिम अहिले १०८ स्थानमा रहे पनि ६० स्थानमा रहेको देशलाई पराजित गरेको उहाँले बताउनुभयो ।

खेलको प्रत्यक्ष प्रसारण बिभिन्न च्यानलबाट : 

खेल अवधिभर एन्फा टिभि र अन्य नेपाली टेलिभिजन च्यानलले खेलको प्रत्यक्ष प्रसारण गरी विश्वभरका खेलप्रेमी दर्शकलाई दखाउने छन् । रङ्गशालामा गई करीब ५० हजार दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गर्ने विश्वास व्यक्त गर्नुभयो । साफ महिला फुटबल प्रतियोगिता सञ्चालनले विराटनगरको नाम विश्वभरी चर्चा हुने दाबी गरिएको छ ।

प्रतियोगिताको प्रचारप्रसारका लागि मोरङ, सुनसरी, झापा लगायतका जिल्लाका स्थानीय पत्रपत्रिका, एफएम, स्थानीय टेलिभिजन, अनलाइनबाट प्रचारप्रसार गरिनुका साथै रिक्सा, भ्यानबाट प्रतियोगताबारे सर्वसाधारणलाई जानकारी गराइने बताइयो

उहाँले सञ्चारकर्मीको सुविधा लागि प्रतियोगिता अवधिभर रङ्गशालामा वाइफाइसहित मिडिया सेन्टरको सुविधा उपलब्ध हुने छ भन्नुभयो । प्रतियोगिताको टिकट अनलाइन, बिक्री कक्ष तथा रङ्गशालामा उपलब्ध हनेछ ।

संयोजक राईले नेपाल टेलिकम र एनसेलबाट छोटो सन्देश प्रवाह गरी सर्वसाधारण प्रतियोगिता सम्बन्धी जानकारी गराइने बताउनुभयो । रङ्गशालामा प्रतियोगिता अवधिभर चिकित्सकसहितको अन्तर्राष्ट्रियस्तरको “हेल्थ डेक्स”स्थापना गरी तयारी अवस्थामा दुई वटा एम्बुलेन्स व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिता तथा खलाडीको सुरक्षाको व्यवस्था सुदृढ रहेको बताउँदै रङ्गशालामा स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बाहिरपट्टी नेपाली सेनाले सुरक्षा जिम्मेवारी लिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट यस क्षेत्रमा चहलपहल बढ्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा आउने छ उहाँले भन्नुभयो । उहाँले फागुन २६ गतेसम्म विदेशी महिला खेलाडी विराटनगर आउने हुनाले महानगरपालिकाले पाहुनालाई होटलसम्म पु¥याउने बाटोको मर्मत कार्य सम्पन्न गरिसक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिता सञ्चालन गर्नका लागि विराटनगर महानगरपालिकाले रु एक करोड र प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको जानकारी दिदैं प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३०० भन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशिक्षकको सहभागिता रहने छ ।

नेपाल, भारत, भुटान,, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने सो प्रतियोगितामा फागुन २८ गते नेपाल र भूटानबीच उद्घाटन खेल हुने छ ।

प्रतियोगिताको ‘ए’ समूहमा नेपाल, भूटान र बङ्गलादेश रहेको छ भने ‘वी’ समूहमा भारत, श्रीलङ्का र मालदिभ्सको महिला टिम छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्