विराटनगरमा साफ महिला फुटबल:नेपाल र भुटानबीच उद्घाटन खेल,सहिद रंगशाला मैदान तयार

विराटनगरमा साफ महिला फुटबल:नेपाल र भुटानबीच उद्घाटन खेल,सहिद रंगशाला मैदान तयार

विराटनगर फाल्गुन २६ ।

साफ महिला च्याम्पिसनसीप फुटबल प्रतियोगिता आयोजना हुने विराटनगरको सहिद रंगशाला मैदान तयार छ । काठमाडौं बाहिर पहिलो पटक हुन लागेको यो प्रतियोगिताको तयारी पनि निकै द्रूत गतिमा चलिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण रार्ईका अनुसार अब मैदानमा रेखांकन गर्नेबाहेक लगभग धेरै काम बाँकी छैन ।

विराटनगर आइसकेको नेपाली टोलीले शनिबार सहिद मैदानमै अभ्यास गरेको छ । टिम प्रशिक्षक हरि खड्काले खेलाडीलाई प्रतियोगिता हुने मैदानमै उतारेर प्रशिक्षण र अभ्यास गराएका छन् । उनले भने,‘‘नेपाली खेलाडीले निकै मेहनतसाथ आफूलाई मैदानमा उतार्दै छ ।’’

कुन टिम कहिले आउने ?

प्रवक्ता राईले प्रतियोगितामा भाग लिने भुटानको टोली काठमाडौमै रहेको बताएका छन् । आइतबार वा सोमबारसम्म भुटान विराटनगर आइपुग्ने छ । बाँकी भारत, बंगलादेश, मालदिभ्स र श्रीलंका पनि काठमाडौं हुँदै विराटनगर आउने छन् ।

नेपालीबाहेक खेलाडी र प्रशिक्षकसहित दुई सयजना विदेशी पाहुना आउने तय भएको छ । खेलाडीको अभ्यासका लागि डीपीएस मैदान, प्रहरी तालिम केन्द्रको मैदान र विराटनगर जुट मिलको मैदान स्तरोन्नति गरिएको छ । खेलाडी, अफिसियल, प्रशिक्षक तथा प्रतियोगितासँग सम्बन्धित व्यक्तित्वको बसोबासको लागि विराटनगरका ५ वटा होटल बुक गरिएको छ । राई भन्छन्, “अन्तर्राष्ट्रियस्तरको स्पर्धा भएकोले हामीले मापदण्ड र तयारीमा कमजोरी हुन नदिन सक्दो प्रयास गरेका छौं ।”

को कहिले प्रतिष्पर्धा गर्दैछन्  ?

प्रतियोगितामा सहभागी हुन पाकिस्तान नआउने भएपछि एन्फाले परिवर्तित खेल तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार गु्रप एमा बंगलादेश, नेपाल र भुटान रहेका छन् । यसैगरी ग्रुप बीमा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

फागुन २८ गते नेपाल र भुटानबीच उद्घाटन खेल हुनेछ । २९ गते भारत र माल्दीभ्स, ३० गते भुटान–बंगलादेश, ३१ गते माल्दिभ्स–श्रीलंका, चैत १ गते बंगलादेश–नेपाल र चैत २ गते श्रीलंका–भारतले खेल्नेछन् । पहिलो र दोस्रो रनरअपको दुबै स्पर्धा चैत ४ गते हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत ५ गते हुनेछ ।

कहाँ पुग्यो तयारी  ?
खेल हुने मैदान बाहिरको अवस्था भने निकै नै कहालीलाग्दो देखिन्छ । रंगशालासम्म आउने सडक कालोपत्रे हुने नहुने भन्ने अझै तय भईसकेको छैन् । विराटनगरमा जारी निर्माणको काम र ठाउँठाउँमा भत्काइएको सडकबाट उड्ने धुलोका कारण खेलमैदानसम्म आउन खेलाडी र दर्शकलाई पनि निकै सास्ती हुने अवस्था छ ।

एन्फा प्रवक्ता राई भन्छन्,‘‘बाहिरको सडकमा कालोपत्रे हाल्न अबेर भए पानी छर्केर धुलो नउड्नेसम्मको बनाउने प्रयास रहने छ ।’’  रंगशाला भित्रको विभिन्न कामको लागि विराटनगर महानगरपालिकाले एक करोड र प्रदेश १ सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएका छन् । प्रतियोगिता सोमबार शुरु हुँदैछ ।

उद्घाटन खेल नेपाल र भुटानबीच हुनेछ । प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने जानकारी गराईसकेको छ ।  सहिद रंगशालाभित्र धेरै पूर्वाधार नयाँ बनाउनु परेकोले अझै काम जारी रहेको छ ।  प्रवक्ता राईको भनाइमा खेलाडीको चेन्जिङ रुम, वेटिङ रुम, मेडिकल रुम र मिडिया सेन्टरको केही काम बाँकी छ ।

भन्छन्, ‘‘हामीले दुई दिनभित्रमा सबै काम सक्ने गरी निकै गति बढाएर काम गराईरहेका छौं ।’’ टिकट बिक्री सोमबारदेखि सुरु हुने राईले जानकारी दिएका छन् ।(बारखरी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्