प्रदेश नम्बर १ मै यस्तो : फाकफोकथुममा कर्मचारी अभावले वडा सचिवको काम प्राविधिकबाट

प्रदेश नम्बर १ मै यस्तो : फाकफोकथुममा कर्मचारी अभावले वडा सचिवको काम प्राविधिकबाट

मङ्गलबारे, फागुन २७ गते । फाकफोकथुम गाउँपालिका–२ का प्राविधिक लक्ष्मी शर्मा अहिले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । वडामा उहाँले वडासचिव र प्राविधिक दुवैको जिम्मेवारी सम्हाल्नुभएको छ । त्यस्तै फाकफोकथुम–१ ठिङ्गेपुरमा तिलरूपा राई वडा सचिवको जिम्मेवारी सम्हालिरहनुभएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमकी सामाजिक परिचालक राईले वडा सचिवको भूमिका निर्वाह गरिरहनुभएको हो ।

गाउँपालिका घोषणा भएको झण्डै दुई वर्ष पुग्नै लाग्दा पनि जिल्लाको दुर्गम फाकफोकथुम गाउँपालिकाका सात वटा वडामध्ये तीन वडामा मात्र सचिव छन् । अन्य वडामा अन्य कर्मचारीले दुईतिरको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । जस्ले गर्दा दैनिक कार्यसम्पादनमा पनि समस्या भएको छ । सिंहदरबारको अधिकार गाउँमा पुगे पनि कर्मचारी र भवन अभावमा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको छ । गाउँपालिकाका अधिकांश वडा नयाँ भएकाले वडा भवन बन्न ढिलाइ हुँदा भाडाको घरमा मुस्किलले काम चलाउनुपर्ने बाध्यता छ ।

फाकफोकथुम गाउँपालिकामा पर्याप्त कर्मचारी छैनन् । गाउँपालिकाको क्षेत्र ठूलो र कर्मचारी कम हुँदा काम गर्नै कठिन भएको फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी बताउनुहुन्छ ।

“योजना छनोटदेखि डिजाइन स्टमेट र भुक्तानीसम्म नै प्रभावित भएपछि कार्य योजनाअनुसार विकासका गतिविधि बढाउन कठिन छ”, उहाँले भन्नुभयो । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनीयर, अधिकृतसहित ३३ वटा स्वीकृत दरबन्दी रहे पनि हाल तीन जना अधिकृतसहितका १६ वटा दरबन्दी खाली रहेको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । सरकारले कर्मचारी समायोजन गरे पनि अहिलेसम्म यस गाउँपालिकामा कोही पनि कर्मचारी आएका छैनन् ।

जतिसक्दो चाँडो कर्मचारीको व्यवस्थापन गरेर कार्य सम्पादनलाई सहज बनाउन माग गरे पनि सुनुवाइ नभएको उहाँ बताउनुहुन्छ । करीब रु १० करोड विकास खर्च रहेको यस गाउँपालिकामा अहिलेसम्म १० प्रतिशत मात्र प्रगति भएको छ । केही योजना कार्यान्वयन चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्