धनकुटा फाल्गुन २७ । धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या बर्षेनी घटिरहेको छ । कुनै समय पूर्वकै शैक्षिक गन्तव्य बनेको यो क्याम्पसको विज्ञान संकायमा त झन् यस वर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन् ।
व्यवस्थापकीय कमजोरी र शैक्षिक गुणस्तर सुधारको प्रयत्न नहुँदा मनग्य पूर्वाधार र श्रोत–साधन भएपनि धनकुटा बहुमुखी क्याम्पसप्रति विद्यार्थीको आकर्षण घट्दै गएको हो । स्नातक तहको विज्ञान शंकायमा पहिलो वर्षका लागि प्रवेश परीक्षासमेत उत्तीर्ण गरेका चारमध्ये एकजना विद्यार्थी पनि भर्ना भएनन् ।
स्नातक तहकै दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत १८–२० जनामध्ये आधाभन्दा बढी विद्यार्थी नियमित कक्षा लिँदैनन् । क्यानडा सरकारको सहयोगमा सञ्चालित सामुदायिक चिकित्सा कक्षा बन्द भएपछि विकल्पको रुपमा २० वर्षअघि सुरु गरिएको विज्ञान शंकायको पढाइ पनि विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको हो ।
धनकुटामा कक्षा ११ र १२ मा विज्ञान विषय पढाउने तीन वटा सरकारी स्वामित्वको विद्यालय छन् । ती विद्यालयमा पनि विद्यार्थी भर्ना र उत्तीर्ण संख्या घटेको छ । विज्ञान विषयमा कक्षा ११–१२ मै विद्यार्थी भर्ना र उत्तीर्ण संख्या कम हुने तथा उत्तीर्ण भएका विद्यार्थीको स्नातक तह पठन–पाठनको रोजाइमा पनि यो क्याम्पस पर्न छाडेपछि कक्षाकोठा खाली हुने अवस्था आएको हो ।
अरु संकायमा पनि विद्यार्थी निकै कम छन् । तर, क्याम्पस प्रशासनले शैक्षिक गुणस्तर सुधामा भने खासै ध्यान दिएको छैन । क्यापसमा समय नदिई निजी कलेज धाउने प्राध्यापकलाई नियमअनुसार कारबाही, शैक्षिक गुणस्तर सुधार र व्यवस्थापकीय पक्षलाई चुस्त–दुरुस्त नबनाउने हो भने क्याम्पसलाई अस्तित्व जोगाउन सजिलो हुने छैन ।