वीरगञ्ज, २९ फागुन। पर्साको जीराभवानी गाउँपालिकामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।
जसमा एक युवतीको मृत्यु भएको छ भने दुई जना बिरामी भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ । जिराभवानी गाउँपालिका ४ सढीटोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको हो ।
सोही गाउँकी १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास बिरामी छन् । उनीहरु भारतको इनर्वा बजारमै उपचार गराई घर फर्किएका छन् । उनीहरुले विष सेवन गरेको आशंका गरे पनि पुष्टि भएको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘उनीहरुले विष सेवन गरेको आशंका गरिएको छ, मृतकको शव पोष्टमार्टमका लागि वीरगञ्ज ल्याइसकेका छौं’ उनले भने ‘भागेर विवाह गर्न खोज्दा घटना भएको जस्तो देखिन्छ । उनीहरुलाई यता ल्याएपछि थप कुरा खुल्छ । ’
के हो घटना ?
स्थानीयका अनुसार २६ गते सञ्जय दास, राम चौधरीलगायत ५ जना केटाहरु सजिता र मजितालाई लिन उनीहरुको गाउँ गएका थिए । तर उनीहरु मध्ये ४ जनालाई स्थानीयले पक्रेर प्रहरीलाई बुझाए । दुईजनालाई लिएर सञ्जय मोटरसाइकलमा भागेका थिए ।
स्थानीयले दिनभरी खोजतलास गर्दा पनि उनीहरु फेला परेनन् । उनीहरु भारततर्फ भागेर राति मात्रै फर्केको बुझिएको छ । सञ्जय दुई युवतीसहित आफ्नो घर पुगेका थिए । त्यसपछि उनीहरु बाहिर गएका छैनन् ।
बिहान सञ्जयको आमाले तीनै जना बेहोस भएको थाहा पाइन् । त्यसपछि गाउँलेलाई हार गुहार गरेर उनीहरुलाई उपचारका लागि भारतीय बजार इनर्वा पुर्याइयो । सजितालाई चिकित्सकले मृत घोषित गरे । पक्राउ परेकाहरुसँग प्रहरीले सोधपुछ गरिरहेको छ । पक्राउ परेका मध्येका राम चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ ।
घटनाबारे प्रहरीले फागुन २७ गते बिहान ११ बजे मात्रै जानकारी पाएको थियो । त्यसपछि घटनाबारे अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले उनीहरु सुतेको भनिएको कोठामा विष सेवन गरेको पुष्टि हुने कुनै प्रमाण नभेटिएको बताए ।
‘ परिवारले विष सेवन गरेको भनेका छन्, तर विषको बोतल लगायतका कुनैपनि वस्तु कोठामा भेटेका छैनौं’ उनले भने ‘अहिले नै यकीन भन्न सक्ने अवस्था छैन । हामी अनुसन्धान गरिरहेका छौं । ’
सामाजिक सचेतनाको खाँचो
कानुनले विवाहको उमेर २० वर्ष तोकेको भएपनि पछिल्ला दिनमा तराई मधेसका जिल्लामा कम उमेरमै भाग्ने प्रचलन बढी रहको छ । त्यसले गर्दा अभिभावक र प्रहरी प्रशासन हैरान भइसकेका छन् । कतिपय अभिभावकले छोरी भगाउने केटा विरुद्ध मानव बेचविखन, अपहरण तथा शरीरबन्धक र जर्बजस्ती करणीको मुद्धा दर्ता गराउन आउने गरेका छन् । प्रहरीले केटा केटी दुवैलाई झिकाएर अभिभावकको जिम्मा लगाएर पठाएपनि कतिपय किशोर किशोरी पुन भाग्ने गरेका घटना समत भएको प्रहरी अधिकारीहरु बताउँछन् ।