विप्लव समूहका गतिविधिमाथि सूक्ष्म निगरानी , प्रहरीले कारबाही अगाडि बढाउदै

विप्लव समूहका गतिविधिमाथि सूक्ष्म निगरानी , प्रहरीले कारबाही अगाडि बढाउदै

देवबहादुर कुँवर

काठमाडौँ, फागुन ३० गते । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि प्रतिवन्ध लगाएसंँगै सो पार्टी स्वतः अपराधिक समूहमा परिणत भएको भन्दै प्रहरीले कारबाही अगाडि बढाएको छ । नेपाल प्रहरीले विप्लव समूहलाई ‘अपराधी’ को संज्ञा दिई बुधबारबाट त्यस समूहका हरेक गतिविधिमाथि सूक्ष्म सुरक्षा निगरानी राख्नका साथै आवद्ध सदस्य तथा सहयोगीहरूलाई पक्राउका लागि देशरभर सर्कुलर जारी गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विप्लव समूहका नेता तथा कार्यकर्ताहरुको पक्राउका लागि मुलुकभरका प्रहरी कार्यालयमा सकुर््लर जारी गरिएको जानकारी दिनुभयो । ‘‘सरकारले प्रतिबन्ध लगाएको समूह स्वतः आपराधिक समूह सरह हुन्छ,’’ उहाँले भन्नुभयो ।

विप्लव समूहका गतिविधिमाथि सूक्ष्म निगरानी राख्न प्रहरी जनशक्ति परिचालनका साथै प्रत्येक प्रहरी युनिट तथा कार्यालयहरूलाई उच्चसुरक्षा सतर्कता अपनाउन समेत निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।
राजनीतिक पार्टीको आवरणमा विप्लव समूहले चन्दा आतङ्क, धम्की, अपहरण, हतियार प्रदर्शन र सर्वसाधारणको ज्यान जाने गरी बम विस्फोटका घटना बारम्वार दोहोर्याउन थालेपछि सरकारले पछिल्लो कदम चाल्न बाध्य भएको जनाइएको छ ।
प्रहरीका अनुसार, राजनीति पार्टीका नाममा गैरराजनीतिक र आपराधिक क्रियाकलाप दिन प्रतिदिन बढ्दै जान थालेका थिए । प्रदेश सातको राजधानी धनगढी कैलालीबाट केही दिनअघि शुरु भएको सुरक्षा बैठकमा विप्लव समूहका गतिविधिको मिहिन समीक्षा गरिएको गृह मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार,सुरक्षा बैठकमा सहभागी जनप्रतिनिधि, प्रशासनिक निकायका पदाधिकारी र सुरक्षा निकायका प्रतिनिधिहरुले नेकपा विप्लव समूहका आपराधिक गतिविधिको फेहरिस्त प्रस्तुत गरिएको थियो ।
यो समूहले ‘जनगणतन्त्र’ राजनीतिक मुद्दाको रूपमा उठाए पनि सतहमा भने सर्वसाधारणलाई त्रास फैलाई चन्दा सङ्कलन रहेको दाबी गरिएको छ । सुरक्षाविज्ञ एवं पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी विप्लव समूहका गतिविधि आपराधिक भएको बताउनुहुन्छ ।
‘‘सर्वसाधारणको ज्यान जाने गरी बम विस्फोट गराउनु अपराध हो’,’ उहाँले थप्नुभयो,‘‘ तर सोही विषयलाई लिएर पार्टीमाथि नै प्रतिवन्ध लगाउनु राम्रो होइन, यसले द्वन्द्व निम्त्याउँछ । आपराधिक गतिविधिलाई कानुन अनुसार कारबाही गर्न सकिन्छ । राजनीतिक विषयवस्तुलाई संवादबाट नै समाधान गर्दा राम्रो हुन्छ ।’’
नेपाल सरकारका विशिष्ट व्यक्तिको शान्तिसुरक्षामाथि नै धावा बोल्न थालेपछि विप्लव समूहमाथि प्रतिवन्ध लगाउन सरकार बाध्य भएको जनाइएको छ । सरकारले विप्लव समूहका सम्पूर्ण गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ । अबैध हतियार तथा विस्फोटक पदार्थ बरामदका लागि सशस्त्र प्रहरी बल समेत परिचालन गरिएको छ । जवरजस्ती चन्दा आतङ्क, अपहरण तथा बम विस्फोटका घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले विभिन्न जिल्लाबाट ७० जनालाई पक्राउ गरेको छ ।
पक्राउ अभियुक्तहरुमाथि हतियार खरखजना, विस्फोटक पदार्थ ओसारपसार तथा चन्दा असुली र धम्की लगायतका विभिन्न मुद्दामा कानुनी कारबाही भइरहेको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा पूर्वअयोग्य माओवादी लडाकुदेखि विप्लव समूहका केन्द्रीय तहका नेता तथा कार्यकर्ता छन् । सो समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव, पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला ‘कन्चन’, अनिल शर्मा ‘विरही’ र उमा भुजेल ‘शिलु’ भूमिगत भई सक्रिय रहेको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्