विराटनगर, १ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ।

Advertisement

प्रतिष्ठानमा बिगतदेखि भएका अनियमितताका सम्बन्धमा विभिन्न सञ्चार माध्याममा आएका तथा सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवदेनका आधारमा उपप्रधानमन्त्री उपेन्द्र यादवको मन्त्री स्तरको निर्णयले अख्तियारमा पठाएको हो । मंगलबार भएको निर्णय अनुसार (बुधबार) कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको हो । अनियमितता तथा घोटालाका सम्बन्धमा प्रतिष्ठानका उपकुलपतिले सम्पादन गरेका अनियमित कार्यहरुको छानविन प्रतिवेदन समेत पेश गरिएको मन्त्रालय श्रोतले जनाएको छ ।

फागुन १७ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियारलाई बर्खास्त गरिसकेको छ । आर्थिक अनियमितताको ओरोप लागेका रौनियारलाई ४२ औ सिनेट बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको प्रतिष्ठानको ४२ औं सिनेट बैठकले उपकुलपति रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानलाई अस्तव्यस्त बनाएको तथा उपकरण खरिदमा भ्रष्टचार गरेको आरोप रौनियारमाथि छ ।

उनले कर्मचारी नियुक्तिमा चलखेल गरेको आरोप समेत लाग्दै आएको थियो । उपकुलपति रौनियार विवादमा तानिएपछि छानविनकालागि प्रधानमन्त्री कार्यालयले डाक्टर केदारबहादुर अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा रौनियारलाई बर्खास्त गरिएपनि थप अनुसनधानका लागि अख्तियारमा पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस