मोरङ,३ चैत । मोरङ पथरी शनिस्चरेस्थित भुटानी शरणार्थी शिविर सी ३ घर नम्बर ६१ का रामप्रसाद सुवेदीका चार छोरा, तीन छोरी र श्रीमती सबै थिए तर उनको अन्तिम दाहसंस्कार गर्दा सहोदर आफन्त कोही पनि थिएनन् । शरणार्थीहरूले मिलिजुली उनको अन्तिम दाहसंस्कार गरिदिए र मलामीलाई बिस्कुट खुवाएर किरिया सम्पन्न भएको जनाउ दिए ।
झापा बेलडाँगी शरणार्थी क्याम्पका कुलबहादुर तिवारी, टीकाराम दर्जी, घले मण्डल, हर्कबहादुर तामाङ र नियासुुर तामाङका पनि श्रीमती, छोराछोरी र आफन्त सबै थिए । तर किरिया गर्ने बेला श्रीमती र छोराछोरी कोही पनि नभएपछि त्यहाँ रहेका शरणार्थीले एकआपसमा मिलेर पैसा उठाए र उनीहरूको अन्तिम संस्कार गरिदिए ।
यी सबै मृतकका छोराछोरी विश्वका समुन्नत राष्ट्रमा विलासी जीवन बिताइरहेका छन् । ‘तर आप्नै बाबुआमाको किरिया गर्न भने कुनै सदस्य नेपाल फर्किएर आएनन्,’ बेलडाँगी शरणार्थी शिविर क्याम्पका सचिव टीकाराम रसाइलीले भने, ‘तेस्रो मुलुक पुनःस्थापना कार्यक्रमले हामी भुटानीले परिवारको बीचमा रहेर किरियासमेत गर्न पाएनौं ।’
‘किरिया गर्ने खर्च नभएपछि चन्दा उठाएर किरिया गरिदिएका छौं,’ सचिव रसाइलीले भने, ‘धेरै बेवारिसे हुने अवस्थामा छन् ।’
कति वृद्धवृद्धाले नेपाली भाषा, संस्कृति, कला र समाज छोड्न मानेनन् र शिविरमै बस्न चाहे । कत्ति परिवार सदस्यसँगै जान्छु भन्दा पनि पाएनन् । यसको समस्या अहिले देखिएको छ ।
सचिव रसाइलीले भने, ‘परिवारका सदस्यमध्ये कुनै एउटा देशमा त कुनै अर्को देशमा छन्, हामी त छिन्नभिन्न भयौं । अब त न जिउँदैमा सुख पाउने भइयो न त मरेपछि राम्ररी किरिया नै हुने भयो ।’
३० वर्षअघि भुटानबाट भारत हुँदै नेपालमा शरणार्थी जीवन बिताउन आएका झन्डै सवा लाख भुटानीमध्ये १ लाख १३ हजारभन्दा धेरै अमेरिका, अस्टेलिया, क्यानडा, स्विटजरल्यान्डलगायतका देशमा पुनःस्थापना भइसकेका छन् । दर्ता भएका शरणार्थीमध्ये ६ हजार ५६५ जना अझै झापाको बेलडाँगी र पथरी शिविरमा कष्टपूर्ण जीवन बिताइरहेका छन् ।
दर्तामा छुट भएका झन्डै त्यति नै शिविरमा त्रासदिपूर्ण जीवन बिताइरहेको भुटानी महिला संघकी सदस्य गीता गिरी बताउँछिन् । उनको माइती नेपालका बुद्धशान्ति गाउँपालिका हो । भुटानीले विवाह गरेर उनलाई शिविरमा लगेका थिए । उनका श्रीमान् अहिले अमेरिका गाइसकेका छन् तर उनी शिविरमै छिन् । उनको जीवन पनि अन्योलग्रस्त भएको छ ।
शिविरमा धेरैजसो अशक्त वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र बालबालिका छन् । बेलडाँगी शिविर क्याम्पका सचिव चम्पा सिंह राईले भने, ‘अब त किरिया गर्ने मानिससमेत क्याम्पमा भेटिन गाह्रो भइसक्यो, एक्लो जीवन बिताउने धेरै छन्, स्थिति भयावहजस्तै भएको छ ।’ ‘रामप्रसाद सुवेदीका सात जना छोराछोरी हुँदा पनि किरिया गर्ने बेलामा एउटा पनि सन्तान नभएका कारण हामीले मलामीलाई बिस्कुट चखाएर किरिया सक्यौं,’ उनले भने ।
‘धेरै जना परिवारका सदस्यसँगै जान चाहेका थिए तर विविध कारणले यूएनएचसीआरले रोक्यो जान दिएन, केही नजाने भन्दै शिविरमै बसे तर यतिबेला ठूलो समस्याका रूपमा देखा प¥यो, परिवार छिन्नभिन्न भयो,’ बेलडाँगी शिविरका सचिव रसाइलीले भने, ‘किरिया गर्ने मान्छेको खाँचो त देखियो नै बाचेकामध्ये पनि धेरैजसो वृद्धवृद्धा डिप्रेसनमा परेका छन् ।’ उनले भने, ‘झन्डै ४० प्रतिशतभन्दा बढी वृद्धवृद्धा डिप्रेसनको सिकार भएका छन् । त्यसको मूल कारण भनेको परिवारको फुट र तेस्रो मुलुक पुनःस्थापना नै हो ।’
बेलडाँगी शिविरमा खिनमायाँ आचार्य ८४ वर्षमा पुगिन् । उनका पाँच छोरा तीन छोरी १४ नातिनातिना छन् तर उनी पनि अहिले एक्लो जीवन बिताइरहेकी छन् । उनले भनिन्, ‘बिरामी हुँदा मुखमा तिरिक्क पानी हालिदिने पनि कोही छैन, सबै अमेरिका र क्यानडा गए, ‘मरेपछि त यो शरीर गिद्धले खाए पनि के हुन्छ र ?’ आँखाभरि आँसु झार्दै उनले भनिन्, ‘बाँचुन्जेल सुखले सास फेरेर पनि बाँच्न नपाइने भइयो, खै यो प्राण न गइजान्छ न छोराछोरीसँग विदेश नै जान पाइन्छ बुढेसकालमा रुँदै दिन बिताउनुपरेको छ ।’ खिनमाया त उदाहरण मात्र हुन्, उनीजस्तै दुःख, पीडा र वेदना सहेर शिविरमा बस्ने सयौं वृद्धवृद्धा छन् ।
शिविरबीचमा एउटा चित्राले बेरिएको गोल घर छ । घरभित्र १०-१२ जना वृद्धवृद्धाले महाभारत र रामायण पढ्दै गरेका भेटिन्छन् । भागवत गीता पढ्दै गरेकी ८५ वर्षीया डम्बरकुमारी काप्mलेले भनिन्, ‘भागवत गीता हाम्रो सहारा बनेको छ ।’
शिविरमा केही युवाहरू भाका हालेर गीत गाउँदै थिए, ‘कतिन्जेलसम्म नेपालमा बस्नु । सरकारको आस गरी’ गीत गाउँदै दिन बिताइरहेका उनीहरूले भने, ‘खै पुरपुरोमा जति छ, त्यति नै हुन्छ होला, पाउनुसम्म दुःख पाइयो, अब यसरी गीतकै पीडामा रमाएरै दिन जाला जस्तो छ ।’
यतिखेर यूनएनएचसीआरले तेस्रो मुलुक लैजाने क्रम बन्द गरेपछि शिविरमा रहेका भुटानीको जीवन अन्योलमा परेको छ । भुटान अपांग संघकी अध्यक्ष देवीमाया गुरुङले भनिन्, ‘शिविरमा अपांगता भएका ४०१ शरणार्थीको अवस्था अझै दर्दनाक छ । आफ्नो जीवन कसरी निर्वाह गर्ने चिन्ताले उनीहरूलाई सताएको छ ।