राजविराज विमानस्थलमा चारैतिर सञ्चालित इँटा भट्टाका कारण उडान र अवतरणमा प्रभाव

राजविराज विमानस्थलमा चारैतिर सञ्चालित इँटा भट्टाका कारण उडान र अवतरणमा प्रभाव

माला कर्ण , सप्तरी, चैत ३ गते । चारैतिर सञ्चालित इँटा भट्टाका कारण राजविराज विमानस्थलमा उडान र अवतरणमा प्रभाव पर्ने भएको छ । राजविराज विमानस्थलको पूर्व–पश्चिममा १३ वटा इँटा भट्टा सञ्चालनमा छन् । तिनबाट निस्कने धूवाँले आकाश चारैतिर धुमलिरहेको हुन्छ ।

राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको पूर्वतर्फ सात सय मिटरकै दूरीमा ९० फिटको अग्लाचार वटा चिम्नी (इँटा भट्टा) का कारण विमान सेवा सञ्चालनमा गम्भीर समस्या भइरहेको खुलासा गरेको छ ।
राजविराज नागरिक उड्डयन कार्यालय राजविराजका प्रमुख भीमदत्त पन्तले विमानस्थल नजिकै सञ्चालित इँटा भट्टाका कारण उडान–अवतरण जोखिमपूर्ण रहेको बताउनुभयो । ‘रन–वे’ को मुखैमा ९० फिट अग्लो चिम्नी छ, उहाँले भन्नुभयोे, ३० फिटसम्म भएको भए समस्या हुँदैनथ्यो तर चिम्नी अत्यधिक अग्लो रहेका कारण अवतरण गर्ने क्रममा एकदमै जटिलता आउँछ ।

प्रमुख पन्तले चिम्नी हटाउनुपर्ने विषयमा जिल्ला प्रशासन कार्यालय, स्थानीय र सङ्घीय सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणमा समेत दुई पटकसम्म मौखिक तथा लिखित ध्यानाकर्षण गराइसकेको बताउनुभयो । चिम्नी व्यवस्थापन गर्नेतर्फ हालसम्म कसैको ध्यान गएको छैन ।chimni
यस्तै समस्यामा हाल विमान सेवा सञ्चालन भएको छ । राजविराज विमानस्थल २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्वर्गीय गणेशमान सिंहले शिलान्यास गरी सञ्चालनमा आएको हो ।
केही दिनअघि सञ्चालनपछि कच्ची धावनमार्गको समस्या देखाउँदै विमान सेवा पूर्ण रूपमा ठप्प नै गरियो । पछि विभिन्न प्रयासले विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चौडाइ एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडाइको ट्याक्सी वे निर्माण भएपछि गत जेठ ९ गते श्री एयरलाइनले गरेको परीक्षण उडान गरेको भयो ।

झण्डै छ दशकपछि गत असार १० गतेबाट राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुचारु भयो । श्री एयरलायन्सको ५० सिट यात्रु क्षमता भएको विमानले साताको पाँच दिन उडान शुरु गरेको छ । पाँच महिनासम्म शनिबार र मङ्गलबारबाहेक कम्पनीले नियमित उडान भर्दै आएको थियो ।

तर, दुई महिनायता प्राविधिक समस्या देखाउँदै एयरलायन्स सातामा तीन दिन मात्रै उडान गर्दैछ ।
विमानस्थलमा शुरुदेखि हालसम्म पाँच हजार ६३१ काठमाडौँ–राजविराज र पाँच हजार २२६ यात्रुले राजविराज–काठमाडौँ यात्रा गरिसकेका छन् भने २८६ वटा विमान सेवा सञ्चालन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्