सप्तकाेशीमा पानी जहाज : ६ करोडको लगानी पानीमा, चतरा देखि घुर्मीसम्म जल यातायातकाे तयारी

सप्तकाेशीमा पानी जहाज  : ६ करोडको लगानी पानीमा, चतरा देखि घुर्मीसम्म जल यातायातकाे तयारी

विराटनगर- सप्तकोशी नदीमा पानी जहाज तथा स्टिमर सञ्चालन गर्ने बारेमा विराटनगरमा छलफल शुरू भएको छ । बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि.ले विराटनगरमा सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुङ्गाका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदसँग प्रदेश १ मा पानी जहाजको सम्भावनाको बारेमा छलफल थालेको हो ।

बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि ले ४ वटा मोटर बोट भित्र्याएर काम शुरू गरेसँगै आएका समस्याको बारेमा छलफल चल्न शुरू भएको हो । कम्पनीले उत्साहभन्दा बढी चुनौती भएको जनाएको छ । नदीमा ढुङ्गाका कारण चलाउन समस्या छ । दक्ष चालक हुँदाहुँदै पनि लाइसेन्स नहुँदा चालकलाई निक्कै नै समस्या रहेको सञ्चालकको भनाइ छ ।

राष्ट्रिय महत्वको विषयलाई झन्झटको रूपमा दिइनु हुँदैन भन्ने हुँदाहुँदै पनि विभिन्न नाममा दु:ख दिने र झन्झट दिने काम भइरहेको सञ्चालक नबिन कुमार पौडेलले बताए । ‘बिजुलीको मिटर सिफारिससमेत नदिने गरेको कारण निक्कै अफ्ट्यारो छ,' उनले भने, 'भोजपुरको सिम्लेसम्म पुगेर फर्कनु पर्ने बाध्यतालाई टार्न मिल्दैन ।’

त्यो बीचमा ज्यानमारे ढुङ्गा समस्याको रूपमा रहेको छ भने बराह क्षेत्रभन्दा अलिक तल ठूला २ छालहरू नै खतराका रूपमा रहेकोले  त्यसलाई ब्लाष्ट गर्नुपर्ने अवस्था रहेको बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि.का सञ्चालक कुमार पौडेलले जानकारी दिए ।   उनले ताप्लेजुङको काबेली नदीसम्म मोटर बोट लग्न सकिने अवस्था रहेको सुनाउँदै त्यसका लागि केही पहल राज्यको तर्फबाट गर्नुपर्ने सुनाए । काबेलीसम्म जल यातायात  पुर्‍याउनको लागि १५ जनासम्मका जहाज चलाउन सकिने स्पष्ट पारे । पौडेलले अहिले भोजपुरको सिम्लेसम्म गएकोमा अब रानीघाट, हुँदै घुर्मी र नेपालथोकसम्म मोटर बोट चलाउन सकिने दाबी गरे ।  यसरी सञ्चालन भएको मोटर बोट व्यवसाय मात्र नगरी रोजगारीको सिर्जना, जैविक विविधता संरक्षणको लागि पनि काम हुने स्पष्ट पारे । उनले मोटर बोट चलाउनको लागि बराह क्षेत्र नगरपालिकाले १ वर्षको लागि कर छुटसहित आह्वान गरेपनि काम थालिएको पौडेलको भनाइ छ ।

यसरी भित्रियो मोटर बोट

चीनको छिन्ताओबाट अध्ययन गरेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका ४ वटा मोटर बोट ल्याइएको हो । पानी जहाज करीब १ वर्ष अगाडिदेखि शुरू गरिएपनि निक्कै समस्या र झन्झट हुँदै आएको छ । १५ जना देखि ३५ जनासम्म  सहजै बोक्न सक्ने गरी ४ वटा मोटर बोट अहिले कोशीमा चलेका छन् ।  तर अहिले यसरी चलेका मोटर बोट निजी लगानी र पहलबाट भएको हो । तर नदीको ढुङ्गा निकाल्ने बारेमा भने समस्या भएकाले राज्यले सहयोग गरिदिनु पर्ने बताए ।  बराह क्षेत्रको दर्शन मोटर बोटबाट सहजै गर्न सकिन्छ । चतरादेखि हिँडेर बराह मन्दिर पुग्न २ घण्टा लाग्छ तर मोटर बोट जाँदा बढिमा ३ देखि ४ मिनेटमा पुगिन्छ । यसबाट  धेरै पर्यटक भित्र्याउन सकिने छ । करीब ६ करोड लगानी गरेर ४ वटा मोटर बोट किनिएको छ भने ३ सय जनासम्म क्षमता भएको पानी जहाज सप्तकोशी नदिमा सहजै चलाउन सकिने पौडेलको दाबी छ । त्यसको लागि  राज्यले थोरै पानी जहाज चल्ने मार्ग बनाइदिनु पर्नै त्यो हुने बित्तिकै ३ सय जना क्षमताको जहाज ल्याउन आफू तयार रहेको पौडेलले बताए ।

जल यातायातबारे सांसद र नेताका आ–आफ्नै दाबी

नेकपा प्रदेश १ का प्रमुख सचेतक तथा सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीले  दबाब समूह गठन गरेर अघि बढ्नु पर्ने बताए । उनले अध्ययन समिति बनाउन काम शुरू गर्ने र १५ लाख लागेपनि १५ करोड लागेपनि दबाब समूह नबनाउँदासम्म समस्या नै हुने बताए । मिर्चैया–घुर्मीसम्मको सडक बनाउनभन्दा समेत अटेर गरेको सरकारले अहिले नै जल मार्गको अध्ययन गर्ला भन्ने आफूलाई नलागेको भन्दै एउटा दबाब समूह बनाएर जाने हो भने काम चाँडै पूरा हुने बताए । ‘सार्वजनिक सरोकारको विषयमा काम गरौं सम्भव छ,' उनले भने, ‘त्यसका लागि सहजै काम हुनेवाला छैन । दबाब समूह बनाउँ अनि राज्यको ध्यानाकर्षण गराउँ ।’ खोटाङकी सांसद उषकला राईले पानी जहाजलाई सहज चलाउन सकिन्छ भन्नेमा सबै एक मत हुनुपर्ने बताइन् । उनले सरकार र निजी क्षेत्रबीच  एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिइन् । सांसद राईले देश बनाउने कुरामा सबै लाग्नु पर्ने तर्क गरिन् ।

नेकपाका नेता गुरु बरालले स्थल यातायात भन्दा २७ गुणा सस्तो जल यातायतमा पर्ने बताए । २०५५ सालमा कोशीको ढुङ्गा पन्छाउनको लागि ५० लाख छुट्याइएको थियो तर अहिले ५–७ करोड छुट्याउन समस्या छैन । ‘नदी भित्रको गुण्डागर्दी रोकिनुपर्छ,' उनले भने, ‘राज्यले ५ वर्षसम्म इन्सेन्टिभ दिएर यस्ता लगानीकर्तालाई हौस्याउनुपर्छ ।’

खोटाङका प्रदेश सांसद राजन राईले  नेपालमा प्रशस्तै संभावना रहेको जल यातायतमा सबैलाई सहयोग गर्न आग्रह गरे । कोशी नदीमा जल यातायातको काम शुरू गरेर भएको पहललाई प्रशंसा गर्दै आफूले नीतिगत रूपमा सहयोग गर्ने बताए । जल यातायात सुरक्षित बनाउन लाग्ने लागत अनुमानसहितको तथ्यांक आउनुपर्नेमा जोड दिए ।

उयपुरका प्रदेश सांसद बिमल कार्कीले पानी जहाजमा अहिलेसम्म सुरक्षाको मापदण्ड नभएको, उठाउनुपर्ने रकमको मापदण्ड नै नभएको,  नपरी रकम उठाइएकोले यसलाई नियमनको खाँचो रहेको बताए । प्रदेश सरकारले पानी जहाजको लागि बजेट छुट्याएर पनि काम गर्न नसकेकोले अब तत्काल पानी जहाजको सम्भाव्यता अध्ययनको काम थालिनु पर्नेमा जोड दिए । राज्यले बोलेको कुरा त्यो कार्यान्वयनमा नदेखिएको उनले बताए । जल यातायात सञ्चालन गरिएसँगै उदयपुर जिल्लाको उत्तरी उदयपुरको मात्र होइन सोलु, खोटाङ र ओखलढुङगाका सर्वसाधारणले ठूलो फाइदा लिन पाउने उनले बताए । कोशीमा पानी जहाज सञ्चालन गर्नको लागि देखिएका समस्या र समाधानका लागि कसरी काम गर्ने भन्ने बारेमा छलफल  गरेर निश्कर्षमा पुग्नुपर्ने बताए ।  सोलुखुम्बुका प्रतिनिधि सभा सांसद रामकुमार राईले जल मार्गमा आएको समस्याको बारेमा समाधान कसरी गर्ने भन्ने कुरा पहिलो प्राथमिकतामा राखिनुपर्ने बताए । (प्रस्तुती :सुमन सुस्केरा/ आवर विराटनगर) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्