नेपाली भुमीमा भारतको दवदवा, विराटनगरको मैदानबाट नेपाल ईतिहाँस रच्ने दाउमा

नेपाली भुमीमा भारतको दवदवा, विराटनगरको मैदानबाट नेपाल ईतिहाँस रच्ने दाउमा

विराटनगर, ८ चैत ।

विराटनगरमा चलिरहेको महिला साफ च्याम्पिसनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । घरैमा भएको प्रतियोगिता भएकोले मात्र होइन पछिल्लो समयको उच्च लयका कारण नेपाल महिला फुटबलको दक्षिण एशियाको च्याम्पियन बन्ने मौकाको नजिकै छ । तर नेपाललाई सँधैजस्तै यसपटकपनि तगारो बनेर उभिने छ दक्षिण एशियाको बादशाह भारत ।

नेपाली खेलाडीलाई थाहा छ, उनीहरु एउटा ईतिहास बनाउने मौकाको नजिकै छन् । र, उनीहरु इतिहास बनाउन मात्र होइन इतिहास निर्माताका रुपमा आफ्नो नाम लेखाउन पनि आतुर छन् । यसपटक सँघारमै आइपुगेको मौका नचुकाउने प्रंतिवद्धता छ खेलाडीहरु अनिता बस्नेत र मन्जलीकुमारी योन्जनको पनि, उनीहरु भन्छन्, यो हाम्रो लागि अवसर हो ।
नेपालले साफ च्याम्पियनशिपकै फाइनल खेल्न लागेको यो चौथो पटक हो । यसअघिका तीनै फाइनलमा नेपाल भारतसँगै पराजित हुनुपरेको छ । तर, प्रतियोगितामा नेपाली टीमको लोभलाग्दो लय, भर्खरै भारतलाई हराएको जोश र घरेलु भूमी र दर्शकको साथ यसपटक भारतलाई हराउने आधारहरु भएको नेपाली टीमकी कप्तान निरु थापाको भनाई छ ।
भारतमा भएको हिरो वुमन गोल्डकपमा भारतलाई हराउँदै च्याम्पियन बनेकाले नेपाली खेलाडीमा भारतलाई पनि हराउन सकिन्छ भन्ने मनोविज्ञान बनेको छ । नेपाली टीमका प्रशिक्षक हरि खड्का भारत भन्यो कि डराउनुपर्ने यसअघिको अवस्था अब नरहनु पनि नेपाली टीमका लागि ठुलो हतियार हुने बताए । उनले भने , ‘आजको दिन नेपालको लागि बिशेष दिन हो, आजकै दिन हो हामीले ईतिहाँस रच्ने ।’
अहिलेसम्मका चारवटै उपाधि जितेर महिला फुटबलमा आफ्नो हाराहारी दक्षिण एशियाका कुनैपनि देश छैनन भन्ने सिद्ध गरेको भारत यसपटकपनि उपाधि उतै लैजाने ध्याउन्नमा छ । तर नेपाली टीमलाई भारतले पनि कम भने आँकेको छैन । भारतीय टीमकी कप्तान आशालातादेबी लोईन्टोवाङले नेपाली टिम दरिलो भएपनि यस अघि ४ पटक विजेता भएकोले यो पटक पनि जितको लागि प्रयास गर्ने दाबी गरिन ।
तर, खेलाडी र प्रशिक्षकले जे जे दाबी गरेपनि त्यसको पुष्टि टीमले मैदानबाट गर्नुपर्ने हुन्छ । यदि नेपाली टीमले गरिरहेको दाबी मैदानमा पुष्टि गर्न सके नेपाल दक्षिण एशियामा महिला फुटबलको महारथीका रुपमा उदाउनेछ । र नेपाल यो अवसरको एक खुड्किलो मात्रै तल छ । नेपाल र भारत विचको फाईनल खेल  आज दिउँसो ३ बजे सहिद रंगशाला विराटनगरमा हुँदैछ ।  प्रस्तुती : सुमन सुस्केरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्