काभ्रेपलाञ्चोक, ९ चैत। प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, सशस्त्र प्रहरी तथा प्रहरी प्रधान कार्यालयअन्तर्गत रहेको विशेष प्रहरी ब्यूरोको संयुक्त टोलीले शनिबार बिहान खानीखोला गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिए । वलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी खड्काले बताए।
बिहान ४ बजेर १५ मिनट जाँदा बा १७ च ४८९३ नम्बरको स्कोर्पियोमा मकवानपुरको फापरेवारी जाने क्रममा प्रहरीले उनीहरुलाई घेरा हालेर समातेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक श्रीराम तिमल्सिना, सशस्त्र प्रहरी कार्यालय काभ्रेबाट सन्तोष केसीको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेर काठमाण्डौ लगेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
पक्राउ परेका वली विप्लव नेतृत्वको नेकपाका मध्यक्षेत्र इन्चार्ज हुन् । पक्राउ परेका विजय श्रेष्ठ संगठनका सैन्य प्रमुख तथा ताम्सालिङ इञ्चार्ज हुन् भने शंकर अधिकारी खानेपानी मन्त्री विना मगरको पूर्व श्रीमान् हुन् । धर्मराज राजबाहक गाडी धनी तथा सिभिल इञ्जिनियर हुन् । उनको गाडी सानेपाबाट फापरेबारीसम्म जानको लागि ३० हजार रुपैयाँमा शंकर अधिकारीले रिजर्भमा लगेको प्रहरीले जनाएको छ । पक्राउ परेका ९ जनासँगै डेटोनेटर, पेस्तोल, बा १७ च ४८९३ नम्बरको स्कोर्पियोसमेत प्रहरीले बरामद गरेको खड्काले बताए ।
कसरी समातिए वलीसहित नौ नेता ?
अपराध अनुसन्धान महाशाखाको टोलीले चैत ६ गते जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पनि थाहा नदिकन विप्लवका ४ नेतालाई पक्राउ गर्यो । तर विप्लव समूहका मध्यक्षेत्र इञ्चार्ज हेमन्त वलीलाई पक्राउ गर्ने गरी गरिएको प्रहरीको अप्रेशन असफल भयो ।
महाशाखाको टोली हेमन्तको चस्मा र केही औषधिमात्र भेट्टाएर फर्किएपछि जिल्लामा निकै खैलाबैला भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय काभ्रे तथा राष्ट्रिय अनुसन्धानको धेरै पटक बैठक बस्यो ।
विशेष सूचनाको आधारमा विप्लव नेतृत्वको नेकपाका मध्यक्षेत्र इञ्चार्ज वली काभ्रे जिल्लामै रहेको जानकारी जिल्ला सुरक्षा समितिले पायो । सुरक्षा समितिको सल्लाहमा चैत ६ गतेबाटै प्रहरीको विशेष टोली वलीलाई खोज्न खटियो ।
अनुसन्धानका क्रममा रोशी क्षेत्रबाट भागेका नेता तथा कार्यकर्ता काभ्रेको विकट क्षेत्र डाँडापारी क्षेत्रमा सेल्टर बनाएर बसेको सूचना प्रहरी प्रशासनले पायो । दुर्गम ठाउँ र विप्लवका कार्यकर्ताको संख्या यकिन हुन सकेन । ‘डाँडापारि क्षेत्रमा हतियार सहितको ठूलो सेल्टर छ भन्ने सम्मको सूचना प्राप्त त भयो तर कति जना र कुन ठाउँ भन्ने सूचना आएन’, एसपी रविराज खड्काले भने, ‘त्यसपछि विशेष ब्यूरोका १० जना, सशस्त्र प्रहरीको तर्फबाट ११ जना र बाँकी जिल्ला प्रहरीको गरी ४५ जनाको टिम बनाएर सर्च अभियान गर्यौँ ।’
त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट बेलुकाको ११ बजे प्रहरी टोली मिल्चे हिँड्छ । प्रहरीको तर्फबाट प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाको नेतृत्वमा तथा सशस्त्रको तर्फबाट प्रहरी निरीक्षक सन्तोष केसीको नेतृत्वमा प्रहरी टोली मिल्चे तर्फ लाग्छन् । पहिले सिभिलमा ५ वटा मोटरसाइकलमा २ जनाको दरले १० जना प्रहरी, त्यसपछि दुईवटा बोलेरो भ्यान तथा एउटा ठूलो भ्यान मिल्चेतर्फ लाग्छन् । मिल्चे पुग्ने बेलामा एउटा मोटरसाइकलको साइलेन्सर पाइप खस्छ ।
जेनतेन तारले बाँधेर भए पनि प्रहरी टोली मिल्चे पुग्यो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख रविराज खड्का, सशस्त्र प्रहरीका प्रमुख एसपी वेनुप्रसाद पाठक तथा राष्ट्रिय अनुसन्धानका प्रमुख सरोज निरौला हाई अलर्टमा रहन्छन् । प्रहरी टोलीले मिल्चे पुगेपछि एउटा गाडी मिल्चेबाट फापरेबारीतर्फ अगाडि बढ्दै गरेको देख्छ ।
जिल्लाबाट गएको मोटरसाइकल टोलीले पहिलो चरणमा फलो हुन्छ र ट्रयापमा पार्दै मोटरसाइकलले गाडीलाई घेर्छ । केही समयमा प्रहरीको गाडीहरुले घेर्छ । यतिबेलासम्म बिहानीपखको ४ बज्छ । प्रहरीले गाडी खानतलासी गर्दा विप्लव नेतृत्व नेकपाको मध्यक्षेत्र इञ्चार्जसहित ९ जना गाडीमा सवार रहेको भेट्छ र पक्राउ गर्छ ।
पक्राउलगत्तै जिल्ला प्रहरी प्रमुखलाई जानकारी आउँछ, ‘अप्रेशन सफल, सुदर्शनसहित ९ जना नियन्त्रणमा लियौँ ।’ त्यतिञ्जेलसम्म प्रमुख जिल्ला अधिकरी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धान प्रमुख सुतेका हुँदैनन् । ‘टोली मिसनमा गएको छ कसरी निन्द्रा लाग्नु । फेरि अप्रेशन सफल हुन्छ की हुन्न भन्नेमा थियौँ’, एसपी खड्काले भने, ‘डरै डरमा गरिएको अप्रेशन सफल भयो, बल्ल ढुक्क भयौँ ।’ उनका अनुसार विप्लवका केही नेताहरु डाँडापारि क्षेत्रमा हुनसक्ने बताए ।
वलीसहितका ९ जनालाई जिल्लामा ल्याएर सार्वजनिक गर्ने भनिए पनि अन्तिम समयमा काठमाण्डौंको घटनामा जोडिएको कारण सीधै काठमाण्डौ लगिएको छ ।