विराटनगरका पत्रकार सुवेदीलाई शिशुसेवा पत्रकारिता पुरस्कार

विराटनगरका पत्रकार सुवेदीलाई शिशुसेवा पत्रकारिता पुरस्कार

विराटनगर, ९चैत ।
शिशुसेवा पत्रकारिता पुरस्कार २०७५बाट पत्रकार विनोद सुवेदी पुरस्कृत भएका छन् । शिशुसेवा समितिको ३६ औं बार्षिक साधारण सभाको अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा सुवेदीलाई पुरस्कृत गरिएको हो ।

शिशु सेवा पत्रकारिता पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । यस अघि यो पुरस्कारबाट पत्रकार मीनकुमार नवोदित पुरस्कृत भएका थिए । यो वर्षको शान्ता राष्ट्रिय उत्कृष्ठ बाल पुरस्कारबाट विराटनगर—१० की अर्पिता दाहाल पुरस्कृत भएकी छिन् । नृत्य कलामा अब्बल रहेकी दाहाललाई ११ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।
यस्तै शिशु सेवा शिक्षा पुरस्कारबाट नगरग्राम मावि टंकि सिनुवारी कक्षा १२ मा अध्ययनरत पवन श्रेष्ठ र कक्षा १० मा अध्ययनरत रचना भट्टराईलाई पुरस्कृत गरिएको छ । पुरस्कृत तथा सम्मानित हुनेहरूलाई प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, शिशुसेवा समिति विराटनगरकी अध्यक्ष वसुश्री पाण्डे लगायतले, दोसल्ला, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
२०४० सालमा स्थापना भएको शिशुसेवा समितिले ग्रामिण क्षेत्रमा उच्चरहेको बाल मृत्युदर र मातृ मृत्युदर कम गर्न विशेष योगदान गर्दै आएको छ । विपन्न बालबालिका तथा महिलाहरूको सेवामा पनि सकृय रहेको छ । शिशुसेवा समितिले स्वास्थ्य परिक्षण शिविर, बालविकास केन्द्र सञ्चालन,चरुवा स्कुल सञ्चालन, सामुदायिक विद्यालय सहयोगलगायतका कार्यक्रम संचालन गर्दै आएको छ ।
कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले मानविय सेवामा समर्पित शिशुसेवा समितिले बालबालिका र महिलाको क्षेत्रमा गरेका कामको प्रशंसा गरे । संस्थाकी अध्यक्ष वसुश्री पाण्डे र सचिव कविराज न्यौपानेले संस्थाले गर्दै आएका मानविय सेवाका कामहरूबारे जानकारी गराएका थिए । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, समाजसेवजी सुरेश शर्मालगायतले संस्थाको सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्