ओखलढुंगा । ओखलढुंगामा युवती बलात्कारको आरोप लागेका वडा सदस्य फरार भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ । लिखु गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिष्णु श्रेष्ठलाई बलात्कारको आरोप लागेपछि उनी फरार भएका छन् ।
गत विहीबार दिउँसो वडा सदस्य श्रेष्ठले सञ्चालन गरेको ईट्टा भट्टमा श्रीमानसँगै काम गर्दै आएकी एक युवतीलाई बलात्कार गरेको प्रहरीमाझ उजुरी परेपछि उनी फरार भएका हुन् ।
युवती बलात्कारको उजुरी वडा पालिका र जिल्ला प्रहरीमा परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ओखलढुंगा प्रहरीले पीडित युवतीसहित वडा सदस्य श्रेष्ठका परिवार र वडा अध्यक्षलाई जिल्लामा झिएकार बयान लिएको छ । बयानमा पीडक भनिएका श्रेष्ठका परिवारले उनी सम्पर्कमा नरहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले पनि श्रेष्ठ सम्पर्क विहीन भएकाले खोजीकार्य भइरहेको बताए । पीडित युवतीले ईट्टा भट्टामा दिउँसो सुतिरहेको समयमा वडा सदस्य श्रेष्ठ आएर बलात्कार गरेको प्रहरीमा बयान दिएकी छन् ।
पिडितको बयान तथा जाहेरीका आधारमा श्रेष्ठलाई प्रहरीले फरार सुचीमा राखी खोजबिन गरिरहेको छ भने युवतीको डिएनए परिक्षणका लागी जिल्ला अस्पताल रुम्जाटार पठाईएको छ । युवतीको डिएनए रिपोर्ट सर्वाजनिक भएपछि घटनाको तथ्य अझै बाहिर आउने प्रहरीको दाबी छ । जिल्लामा वडा सदस्यबाटै युवती बलात्कारको घटना बाहिर आएपछि राजनितिक रुपमै हलचल मच्चिएको छ । श्रेष्ठ स्थानिय तहको निर्वाचनमा नेकपाबाट वडा सदस्य निर्वाचित भएका थिए ।