खोटाङमा वडाअध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे, बिराटनगरमा उनि विरुद्ध उजुरी

खोटाङमा वडाअध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे, बिराटनगरमा उनि विरुद्ध उजुरी

खोटाङ चैत्र १३ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष ४ महिनाकी बालिकासँग विवाह गरेका छन् ।
कानूनले नै बालविवाह बन्देज गरिसकेको अवस्थामा वडा अध्यक्षले नै बालविवाह गरेको खुलेको हो । इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा शुक्रबार वडा अध्यक्ष विरुद्ध उजुरी परेपछि उनले बालविवाह गरेको खुलासा भएको हो ।

वडामा भएका विभिन्न भ्रष्ट्राचारको विषयमा परेको उजुरीमा उनले बालिकासँग विवाह गरेको पनि खुलाइएको छ । उजुरी अनुसार २०५८ साल चैत्र २७ गते जन्मिएकी खोटाङकी एक बालिकासँग वडाध्यक्ष राउतले गएको साउन महिनामा विवाह गरेको हुन् । स्थानीय पञ्जिकाधिकारिको कार्यालयमा २०५९ चैत्र १ गते गरिएको जन्मदर्ता तथा बालिकाको विद्यालयको परीक्षापत्रमा समेत २०५८ चैत्र २७ गतेकै जन्म मिति देखिएको छ ।


मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्षमूनीको विवाह गैर कानूनी हो । अझ बालिकासँग सहमतीमा नै शारीरिक सम्बन्ध भएपनि बलात्कार भएको ठहर हुने कानूनले व्यवस्था गरेको छ । बालविवाह स्वतः बदर हुने समेत देवानी संहिताले व्यवस्था गरेको छ । राउतले विवाह गर्दा देवानी संहिता कार्यान्वयनमा नआएपनि मुलुकी ऐनको व्यवस्था अनुसार नै विवाहको लागि तोकिएको उमेर २० वर्ष थियो ।

स्रोतका अनुसार वडा अध्यक्ष राउतले बालिकासँग मागी विवाह गरेका हुन् । विवाहको बेला बालिका १६ वर्ष ४ महिनाकी थिइन् । वडा अध्यक्ष राउत हलेसी तुवाचुङ नगरपालिकाको कानुनी मस्यौदा संयोजक समेत हुन् । वडा अध्यक्ष राउतले विवाह गरेको तस्वीर समेत प्राप्त भएको छ । तर, वडा अध्यक्ष राउत भने आफूले विवाह नै नगरेको दाबी गर्छन् । ‘म २९ वर्षको भएँ’ वडा अध्यक्ष राउतले भने, ‘मैले विवाह नै गरेको छैन । विपक्षीले मसँग प्रतिशोध लिन उजुरी गरेका होलान् ।’
हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईे आफूलाई वडा नम्बर ६ का अध्यक्षले बालविवाह गरेकोबारे जानकारी नआएको बताउँछन् । ‘मलाइ बाल विवाह भएको विषयमा कुनै जानकारी, उजुरी आएको छैन’ मेयर राईले भने, ‘बालविवाह नै भएको हो भने कानून बमोजिमको कारबाही हुन्छ ।’


वडा नम्बर–६ स्थित मङ्गलटारको पीपलडाँडा देवीस्थान माध्यामिक विद्यालयले १६ वर्षकी बालिकालाई शिक्षक राखेको छ । विद्यालयले वडा कार्यालयको निर्देशनमा विद्यालयले बालिकालाई शिक्षण पेशामा राखेको हो । गएको वैशाखको १३ गतेदेखि बालिकाले पढाउन थालेकी हुन् । त्यतिबेला उनको उमेर १६ वर्ष २ महिनाको थियो । सोही वडाकी बालिकाको जन्म २०५८ साल चैत २७ गते भएको वडा कार्यालयमा २०५९ साल चैत १ गते गरिएको जन्मदर्तामा उल्लेख छ । पीपलडाँडा देवीस्थान माध्यामिक विद्यालयका प्रधानाध्यापक राजकुमार तिमिल्सिनाले वडा कार्यालयले वडा अध्यक्षको हस्ताक्षरमा उनलाई हाजिरी गराउन निर्देशन पत्र पठाएपछि पढाउने अनुमती दिएको बताउँछन् ।


तिनै १६ वर्षकी बालिकालाई बैशाखको १३ गते शिक्षक जागिर लगाइदिएर साउन महिनामा वडा अध्यक्ष राउतले विवाह गरेका छन् । वडा अध्यक्ष राउतले बालिकासँग मागी विवाह गरेका हुन् । विवाहको समयमा बालिकाको जन्मदर्ता अनुसार उमेर १६ वर्ष ४ महिनाको थियो । यहि चैत १ गते बालिका १७ वर्षकी भएकी छिन् ।
यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको प्रदेश कार्यालय विराटनगरमा वडा अध्यक्ष राउत विरुद्ध उजुरी परेको छ । -बेतना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्