विराटनगर, १५ चैत ।
विराट आँखा अस्पताल प्रालिले रेटिना तथा जलबिन्दु सम्बन्धी उपचार सेवा बिस्तार गरेको छ ।
विराट आँखा अस्पताल प्रालिले पत्रकार सम्मेलन गरी सेवा विस्तार गरेको अस्पतालका व्यवस्थापक प्रमुख राजेश प्रसाईंले जानकारी दिए । अस्पतालले आँखाको उपचारका लागि आधुनिक प्रविधियुक्त ओसिटी इन्जियोग्राफी र पास्कल लेजर प्रविधिको विस्तार भएको जनाएको हो ।
अस्पतालले ओसिटी इन्जियोग्राफी १ करोड ७८ लाखमा किनेको छ भने पास्कल लेजर गरेर ३ करोडको सेवा बिस्तार गरेको जनाएको छ । ओसिटी इन्जियोग्राफी प्रविधिबाट केमिकल नलगाइकन रेटिना भास्कुलर डिजिज डायग्नोसिस गर्न सकिने अस्पतालका डाक्टर अनाधी खत्रीले जानकारी दिए । नेपालमा काठमाडौंको तिलगंगा आँखा अस्पतालपछि यो अस्पतालले मात्र पास्कल लेजर प्रविधि भित्र्याएको दाबी गरेको छ । यो प्रविधिबाट लेजर गर्दा एकै पटकमा बिरामीको लेजर गर्न सकिने भएकाले झन्झटिलो र कम महगो पर्ने अस्पतालले जनाएको छ ।
यस्तै अस्पतालले आर्थिक बर्ष २०७४÷०७५ मा ८३ हजार १ सय ५३ ओपीडी सेवा, १६ हजार ३ सय ५३ को शल्यक्रियाका साथै विभिन्न संघसंस्थाको आयोजनामा निःशुल्क आँखा शिविर गरेको जनाएको छ । यस्तै अस्पतालले २ महिनाभित्र रेटिना सर्जरी सेवा पनि सुरु गर्ने भएको छ ।