विराटनगर, १८ चैत ।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश एकको सम्पन्न दुईदिने प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
संघीय प्रेस फोरम नेपाल जिल्ला कार्य समितिले पत्रकार सम्मेलनको आयोजना गरी समितिको नाम सार्वजनिक गरेको छ । हरिशंकरप्रसाद साहको अध्यक्षतामा निर्विरोध चयन गरिएको समितिको चार उपाध्यक्षहरुमा सुरेशकुमार पण्डित, मन्जु यादव, मनोजकुमार यादव, रामनारायण शर्मा र गिरधारीप्रसाद साह रहनुभएको सो अवसरमा बताइएको थियो ।
यसैगरी मुख्य सचिव, सचिवद्वयमा र कोषाध्यक्षमा क्रमशः शिवनारायण यादव, अजय मण्डल, रामानन्दप्रसाद गुप्ता र रामअवतार यादव रहनुभएको छ । यस्तै सदस्यहरुमा हरिनारायण यादव, रविन्द्रकुमार कुमार महतो, रेणुका चौधरी, कञ्चन ठाकुर र सुरेश महतोलाई चयन गरिएको छ । सो अवसरमा अध्यक्ष साहले सरकारले गरेको कर्मचारी समायोजनामा स्वास्थ्यकर्मीहरुलाई तह घटुवा गरेको आरोप लगाउँदै अविलम्व सच्च्याउनुपर्ने अन्यथा आफूहरुले आन्दोलन गर्ने बताए ।
स्वास्थ्यकर्मी फोरमका केन्द्रीय महासचिव कृष्णलाल यादवले कर्मचारी समायोजनामा स्वास्थ्यका कर्मचारीलाई गरिएको विभेद अन्त्य गर्नुका साथै समायोजन भएका कर्मचारीको नाम चाँडै सार्वजनिक गर्न माग गरे । मधेशी स्वास्थ्यकर्मी फोरमको प्रदेशको १४ जिल्लामा चार सय सदस्य छन् ।